एक वर्षमा चर्चा धेरै, बिक्री कम भएका इलेक्ट्रीक कारहरु

काठमाडौं । बिक्रम सम्बत २०८२ सालमा थुप्रै नयाँ मोडल बजारमा आए । एक वर्ष भित्र बजारमा आयात भएका नयाँ मोडल मध्ये धेरैले ठिकठाक बिक्री पाए ।

अटोमोबाइल क्षेत्रको लागि पनि २०८२ लाई सम्झन योग्य वर्ष मान्न सकिँदैन । त्यसको मुख्य कारण बजारमा भएको बिक्रीले नै प्रस्ट पार्छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा र बैंक ब्याजदर अत्यन्त कम रहँदा पनि गाडीको बिक्री भने बढ्न सकेन ।

नयाँ मोडल आयातका हिसावले पनि २०८२ ठिकठाक रह्यो । गत वर्ष एमजी एस फाइभ, प्रोटोन इमास सेभेन, जिली इएक्स फाइभ, जेको जे फाइभ, जेको जे सिक्स टी, आइकार भी-२३, लीपमोटर बी-१०, महिन्द्रा बीई सिक्स, हुन्डाई क्रेटा ईभी, महिन्द्रा एक्सईभी नाइन ई जस्ता मोडल नेपाली बजारमा आए ।

त्यसैगरी बीवाइडीको सिलायन सेभेन, एटो वान र एटो टु पनि २०८२ मै नेपाल आएका मोडल हुन् । यसका अलावा दिपल एस-०५, डोङफेङ नामी भिगोले पनि आफ्नो अलग पहिचान स्थापित गरे । यी बाहेक अन्य केही चिनियाँ ब्राण्डका साना ईभी बजारमा आए पनि उपभोक्ताको दिमागमा ती मोडलले छाप छाड्न सकेनन् ।

नेपाली बजारमा आएका नयाँ मोडल मध्ये बीवाइडीका तीनवटै मोडल, जेको जे फाइभ र आइकार भी-२३ ले उपभोक्ता बीचमा राम्रै प्रभाव छाडे । प्रभाव छाड्ने सूचीमा एमजी एस फाइभ र दिपल एस-०५ पनि अब्बल देखिए ।

भारतमा उत्पादन भएको क्रेटा ईभी पनि सफल मध्येको एक मोडल देखियो । महिन्द्राको बीइ सिक्स ढिलोगरी बजारमा प्रबेश गरेपनि बिस्तारै उपभोक्ताको रोजाइमा पर्दै गएको देखियो ।

केही मोडलको लागि भने निकै कठिन देखियो । त्यसमा सबैभन्दा पहिलो नाम मलेसियन ब्राण्ड प्रोटोन आउँछ । जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन इमास सेभेन हरेक कोणबाट उत्कृष्ट एसयूभी मान्न सकिन्छ । तर, यसको बिक्री सोचे अनुसार भएन । यतिसम्म कि प्रोटोनको डिलर लिन चाहने मानिस समेत नभेटेपछि कम्पनीले आफैँ विभिन्न सहरमा शोरुम बनायो । तर, पनि संख्यात्मक बिक्री पाउन सकेन ।

कम्पनीले प्रोटोन इमास सेभेनमा १० लाख रुपैयाँ मूल्य घटाएर बिक्री गर्दा पनि सुरुको मितिमा आयात गरेको गाडी बिक्री पुरा गर्न सकेको छैन ।

किया ईभी फाइभ अर्को नेपाल आएर बिक्री सुरु नहुँदै सेलाएको कार हो । कम्पनीले ४० हजार अमेरिकी डलरभन्दा माथिको मूल्य तिरेर ल्याएको दुई युनिट किया ईभी फाइभ बिक्री नै सुरु नगरिकन गुपचुप राखेको छ । चीनमा निकै कम मूल्यको एसयूभीको रुपमा चर्चा कमाएको किया ईभी फाइभ नेपालमा बिक्री नै सुरु हुन सकेन ।

मूल्यको हिसावले प्रतिस्पर्धामा रहेका अन्य ब्राण्डका एसयूभी ४५ लाखदेखि ६० लाख भित्रै पाउने अवस्थामा ४० हजार अमेरिकी डलर माथि परेको ईभी फाइभ प्रतिस्पर्धामा टिक्नै नसक्ने भएकाले बजारमा बिक्री सुरु नभएको हो ।

लीपमोटर बी-१० अर्को चर्चा धेरै भएर पनि संख्यात्मक बिक्रीमा कमजोर मोडल सावित भयो । लीपमोटरको बी-१० एसयूभी १६० किलोवाटको मोटर भएर पनि प्रतिस्पर्धीको सरह मूल्यमा उपलब्ध उत्कृष्ट क्रसओभर मोडल हो । तर, पनि धेरै उपभोक्ताको रोजाइमा परेको देखिएन ।

यसका अलवा महिन्द्रा एक्सईभी नाइन, जेको जे फाइभ जस्ता मोडलले पनि राम्रो चर्चा पाए । तर, बिक्रीमा भने यी मोडल पनि ठिकठाक छन् ।


Back_to_top