बीवाइडीको निर्यात उच्च, चीनमा भने खुम्चिदै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बीवाइडीका उत्पादनको माग उच्च रहँदा चीनमा भने घट्दो क्रममा देखिएको छ । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले आफ्नो निर्यात नयाँ उचाइमा पु¥याएको हो ।

चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले अप्रिल २०२६ को बिक्री तथ्यांक सार्वजनिक गरेसँगै आन्तरिक बजारमा भने ठूलो दवाव झेलिरहेको रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले अप्रिल महिनामा कुल ३ लाख १४ हजार १०० युनिट गाडी बिक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बिक्री संख्या अघिल्लो वर्षको अप्रिलको तुलनामा १५.७ प्रतिशतले कम हो । उसोत कम्पनीको बिक्री अघिल्लो वर्षको तुलनामा निरन्तर ८ महिनादेखि घटिरहेको छ ।

गत मार्च महिनाको तुलनामा भने अप्रिलमा ६.२ प्रतिशतले बिक्री बढाएको बीवाइडीले निर्यातमा भने ठूलो उछाल ल्याएको छ । कम्पनीले अप्रिलमा १ लाख ३४ हजार ५४२ युनिट कार निर्यात गरेको हो । जुन अघिल्लो वर्षको अप्रिलको तुलनामा ७०.९ प्रतिशतले धेरै हो ।

रोचक तथ्यांक के हो भने बीवाइडीले कुल बिक्री गरेको गाडी मध्ये ४२.८ प्रतिशत निर्यातबाट आएको हो । यसले बीवाइडीका कारको अन्तर्राष्ट्रिय बजारमा कति रुची छ भन्ने देखाउँछ ।

नेपालमा पनि बीवाइडीका अधिकांश मोडल उपभोक्ताले मनपराएका छन् । बीवाइडी एटो वान, एटो टु, एटो थ्री र सिलायन सेभेन नेपालमा अहिले पनि चल्तीका मोडल हुन् ।

चार महिनामा १० लाख बिक्री पुरा

बीवाइडीको चीनमा घट्दो बिक्रीको असर ४ महिनाको बिक्री तथ्यांकले पुस्टी गर्छ । चीन सरकारले ईभीको अनुदानमा गरेको कडाईको असर बीवाइडीको बिक्रीमा पनि देखिएको हो ।

बीवाइडीले जनवरीदेखि अप्रिल अन्तिमसम्ममा १० लाख ३ हजार ३९ युनिट कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको पहिलो चार महिनाको तुलनामा २६.४ प्रतिशतले कम हो ।

यस अवधिमा कम्पनीले निर्यात भने ४ लाख ५५ हजार ७०७ युनिट गर्न सफल भएको छ । यो वृद्धि ५९.८ प्रतिशतले बढेको हो ।


Back_to_top