काठमाडौं । चिनियाँ कार निर्माता कम्पनीहरु अमेरिकी र युरोपियन देशका राम्रा र बलिया ब्राण्डसँग संयुक्त लगानीमा काम गर्दै आएका छन् ।
चीनमा कारको माग उच्च बन्दै जाँदा विश्वका हरेक उत्पादलाई त्यहाँको बजारले लोभ्यायो । त्यसैले स्थानिय साझेदार खोजेर अन्तर्राष्ट्रिय ब्राण्डहरु चीन प्रबेश गरे ।
विश्वमै सरकारको सबैभन्दा धेरै लगानी उद्योगमा भएको देश चीन हो । त्यसैले यहाँका हरेक ठूला उत्पादक कम्पनीमा सरकारी लगानी भएको पाइन्छ । त्यस्तै लगानी भएको बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी) ठूलो कार निर्माता हो । यसलाई चिनियाँ सरकारको पूर्ण स्वामित्व रहेको कम्पनी भनिन्छ ।
बीएआइसी अफरोड एसयूभी उत्पादनको लागि अब्बल मानिन्छ । सन् १९५३ स्थापना भएको यो कम्पनीले सुरुमै अफरोड एसयूभी बनाउन अमेरिकी कम्पनी जीपसँग सहकार्य गरेको थियो ।
बीएआइसीले जीपसँगको सहकार्य लामो समय राखेन । तर, कोरियन ब्राण्ड हुन्डाई र जर्मन ब्राण्ड मर्सिडिजसँग अहिले पनि साझेदारी गर्दै आएको छ । मर्सिडिज बेन्ज चीनमा निकै सफल लग्जरी ब्राण्डमा गनिन्छ ।
अहिले बीएआइसीसँग आफ्नै लग्जरी ब्राण्ड स्टेलेटो र मास मार्केट ब्राण्ड आरफक्स पनि छ । अबको दुई महिना भित्र नेपालमा बिक्री थाल्ने योजना बनाएको बीएआइसीको अफरोड एसयूभीहरु नेपाल आउने छन् ।
लक्ष्मी ग्रुप अन्तर्गत नेपाल आउने बीएआइसीको बीजे-३० मोडल नेपाल आउने छ । यो अफरोड र सहरी क्षेत्र दुबैको लागि उपयोगी मोडल हुने देखिन्छ ।
बीएआइसीको प्लानट भिजिटपछि कम्पनीले नेपाल आउने एसयूभी बीजे ३० देखाएको थियो । कम्पनीका अनुसार यसमा म्याजिक कोर हाइब्रिड इन्जिन प्रयोग भएको छ । यसको माइलेज ५१ लिटर पेट्रोलबाट १ हजार किलोमिटर हुने कम्पनीको दाबी छ ।
अफरोड क्षमता उत्कृष्ट रहेको बीजे-३० हाइब्रिड एसयूभी सबै किसिमको बाटोमा चलाउन उपयोगी हुन्छ । यो एसयूभीमा २१५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिइएको छ । साथै, गाडीको अप्रोच एङ्गल २५ डिग्री र डिपार्चर एङ्गल ३० डिग्री भएको कारण अफरोडमा पनि ढुक्कले चलाउन मिल्छ ।

बीएआइसीले आफ्नो अफरोड मेसिनमा चालकको सजिलोको लागि स्लोप एङ्गल, पिच, अल्टिटुड, एयरप्रेसर, कम्पासको अवस्था इन्स्ट्रुमेन्ट क्लस्टरमै गरेको छ । विडिङ मोडसमेत उपलब्ध भएको कारण पानी भएको स्थानमा गाडी चलाउँदा पानीको लेभल पनि मापन गरेर ‘रियल टाइम’मा देखाउने छ । कम्पनीका अनुसार बीजे-३० स्मार्ट ड्राइभिङको लागि परिचित मोडल हो । यसमा स्लो स्टार्ट, फास्ट स्टार्ट, लो स्पीड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम उपलब्ध हुनेछ ।
बक्सी डिजाइनमा तयार भएको बीजे-३० को क्याबिन पनि फिचर लोडेड छ । ड्यासबोर्डमा १४.६ इन्चको स्क्रीन, ८ स्पीकर, वायरलेस चार्जर, प्रिमियम लेदर सिट दिइएको छ ।
सुरक्षाको लागि यसमा कुनै सम्झौता गरिएको छैन । ८ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, एडास फिचर उपलब्ध छ । यी फिचरले सुरक्षासँगै चालकको लागि सहजता पनि प्रदान गर्छ ।


