काठमाडौं । नेपालमा विद्युतीय सवारीको बिक्री बढ्दो क्रममा छ । नेपालमा सन् २०१० महिन्द्रा ई टुओ मार्फत विद्युतीय कारको इन्ट्री भएको थियो । सन् २०१९ देखि आकर्षण बढ्दै गएको थियो भने २०२१ देखि मात्रै बिक्रीले रफ्तार लिन थालेको हो ।
सरकारले लिएको प्रोत्साहन नीति, दिएको कर सहुलियत, तुलनात्मक रूपमा सस्तो मूल्यमा आधुनिक कार पाउनु, बढ्दो चार्जिङ पूर्वाधार, संचालन खर्च कम लगायत कारणले उपभोक्ता ईभीप्रति आकर्षित भएका हुन् ।
हाल वार्षिक विद्युतीय प्यासेन्जर कार बिक्री १० हजार युनिट नाघ्न थालेको छ । गत आवमा साढे ११ हजार युनिट ईभी बिक्री भएको थियो भने चालु आवको चैतसम्म ७२०० युनिट ईभी कार आयात भइसकेका छन् । हाल नेपालमा बिक्री हुने नयाँ कारमध्ये ७० प्रतिशत बढी हिस्सा ईभीको छ ।
हाल नेपाली बजारमा २ दर्जन बढी ब्राण्डका ५० बढी मोडलका ईभी बिक्री भइरहेका छन् । तीमध्ये हालसम्म ९ वटा मोडलले १ हजार युनिटको माइलस्टोन पूरा गर्न सफल भएका छन् । जसमा टाटाका ४, बीवाइडीका ३, एमजीको १ र डोङफेङको १ मोडल रहेका छन् ।
यी हुन् सन् २०२६ अप्रिल १५ सम्म १ हजार युनिट पूरा गर्ने ९ मोडल
नेपालमा हालसम्म सबैभन्दा धेरै बीवाइडी एटो थ्री एसयूभी आयात भएको छ । सन् २०२२ अक्टोबारमा नेपाल आएको बीवाइडी एटो थ्री हालसम्म ४ हजार २४५ युनिट आएको छ । साइमेक्स इंकले २०२२ मा १० युनिट, २०२३ मा १५३२ युनिट, २०२४ मा २०६८ र २०२५ मा ६३५ युनिट आयात गरेको छ । साइमेक्सले गत भदौमा बीवाइडी एटो टु ल्याएसँगै हाल एटो थ्री भने आयात गर्न छाडेको छ ।
दोस्रो धेरै टाटाको नेक्सन ईभी एसयूभी आयात भएको छ । सिप्रदी ट्रेडिङले जुलाइ २०२१ देखि हालसम्म ३ हजार ११ युनिट नेक्सन ईभी ल्याएको छ । सन् २०२२ देखि २०२६ सम्म क्रमशः १८८, १३०१, १२८५, २७, १६४ र ४६ युनिट आयात भएको छ ।
टाटाकै टिगोर ईभी तेस्रो धेरै २ हजार ८४६ युनिट आयात भएको छ । यद्यपि, यो निजी कारको रूपमा नभई ट्याक्सीको रूपमा आयात भएको हो । सिप्रदीले २०२२ मा १४९ युनिट, २०२३ मा ४४८ युनिट, २०२४ मा ७३८ युनिट, २०२५ मा ११४६ युनिट र २०२६ को अप्रिल १५ सम्म ३६५ युनिट ल्याएको छ ।
चौथो धेरै आयात हुनेमा पनि टाटाकै ईभी रहेको छ । २०२३ सेप्टेम्बरमा नेपाल आएको टियागो ह्याचब्याक हालसम्म २ हजार ५१८ युनिट आएको हो । सिप्रदी ट्रेडिङले सन् २०२३ मा ८२४ युनिट, २०२४ मा १०९८ युनिट, २०२५ मा ३९५ युनिट र २०२६ को साढे ३ महिनामा २०१ युनिट ल्याएको छ ।
पाँचौं धेरै आयात हुने ईभीमा बीवाइडी डल्फिन ह्याचब्याक रहेको छ । २०२३ मेमा नेपाल आएको डल्फिन २४४१ युनिट आयात भएको छ । साइमेक्सले २०२३ मा ५५१ युनिट, २०२४ मा १३५५ युनिट र २०२५ मा ५३५ युनिट डल्फिन ल्याएको छ । साइमेक्सले गत भदौमा एटो वान ल्याएसँगै डल्फिन ह्याचब्याक ल्याउन छाडेको छ ।
छैटौंमा, २०२३ अप्रिलमा नेपाल प्रवेश गरेको एमजी एस फाइभ एसयूभी २२६८ युनिट आयात भएको छ । पारामाउन्ट मोटर्सले २०२३ मा ९८६ युनिट, २०२४ मा २३० युनिट, २०२५ मा १०५२ युनिट एस फाइभ ल्याएको छ । २०२६ मा भने एक युनिट पनि आयत भएको छैन । एस फाइभ ल्याउनु अगाडि पारामाउन्टले एमजी ईजेड ईभी ९११ युनिट ल्याएको थियो ।
सातौं धेरै आयात हुनेमा गत साउनमा मात्रै नेपाल आएको बीवाइडी एटो टु एसयूभी रहेको छ । अहिले नेपाली बजारमा हटकेक बनिरहेको एटो टु आक्रमक रूपमा आयात भएको छ । साइमेक्स इंकले ९ महिनामा १३२४ युनिट एटो टु ल्याएको छ । सन् २०२५ मा १०७२ र २०२६ मा २५२ युनिट आयात भएको छ ।
आठौंमा, सन् २०२४ जुलाइमा नेपाल प्रवेश गरेको पन्च ईभी १२३१ युनिट आयात भएको छ । सिप्रदीले २०२४ मा ४९२ युनिट, २०२५ मा ५३४ र २०२६ मा २०५ युनिट पन्च ईभी ल्याएको छ ।
२ वर्ष अघि नेपाली बजारमा आएको डोङफेङ नामीले पनि १ हजार युनिट पार गरेको छ । एमएडब्लू वृद्धिले हालसम्म १ हजार ५५ युनिट नामी एसयूभी ल्याएको हो । कम्पनीले २०२४ मा ३५४ युनिट, २०२५ मा ५७६ युनिट र २०२६ को साढे ३ महिनामा १२५ युनिट आयात गरेको हो ।
यी बाहेक अन्य मोडलका ईभीले भने १ हजार युनिटको आँकडा पार गर्न सकेका छैनन् । दीपल एस ०७ र ओमोडा ई फाइभ १ हजार युनिट नजिक पुगेका छन् ।

