लीपमोटरले ल्यायो अनौठो स्कीम, नेपालमा सम्भव होला ?

काठमाडौं । लीपमोटरले जर्मनीमा अनौठो तरिकाले आफ्नो कारमा स्कीम लगाएको छ । कम्पनीले आफ्नो इन्ट्री लेभल ह्याचव्याक कार टी-०३ लाई मासिक ५८ डलर तिर्नेगरी भाडामा दिने भएको हो ।

यो स्कीमले अन्तर्राष्ट्रिय समाचारहरूमा विशेष स्थान बनाउन सफल भएको छ । ब्लूमबर्गले गरेको रिपोर्ट अनुसार नयाँ स्कीमले युरोपमा चिनियाँ ब्राण्डलाई चर्चा बटुल्न निकै सहज भएको छ ।

ब्लूमबर्ग लेख्छ, ‘यो आकर्षक मूल्य जर्मनीका धेरै स्थानीय मोबाइल ब्राण्डले दिने योजनाहरू भन्दा सस्तो छ । यसलाई लीपमोटरले धेरैभन्दा धेरै बजार हिस्सा बढाउने रणनीतिको रूपमा लिएको देखिन्छ ।’

जर्मनी सरकारले ३ अर्ब युरो ईभीको प्रयोगमा अनुदान दिने घोषणा गरेको थियो । लीपमोटरले त्यसैलाई समाउन सस्तो स्कीम सार्वजनिक गरेको बताइएको छ । लीपमोटरले टी-०३ मा ल्याएको स्कीम अहिले जर्मनमा सबैभन्दा सस्तो मानिएको फियाट ५०० ई भन्दा आधा कम हो ।

निकै कम मूल्यमा अफर गरिएको भएपनि लीपमोटरले टी-०३ लाई फिचर लोडेड बनाएको छ । प्यानोरामिक सनरुफ, रियरभ्यू क्यामेरा, ६ एयरब्याग र उत्कृष्ट ड्यासबोर्ड प्रयोग गरेको छ ।


Back_to_top