काठमाडौं । नेपाली बजारमा राम्रै सफलता पाइरहेको ओमोडा ई फाइभको फेसलिफ्ट मोडल चाँडै आउने भएको छ ।
नेपालका लागि ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ई फाइभ एसयूभीको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीले आफ्नो सामाजिक संजालमा एउटा कारको सांकेतिक फोटो रा्खदै ‘कमिङ सुन’ भनेर प्रचारप्रसार थालेको छ । यद्यपि, कम्पनीले नयाँ कारको नाम नखुलाए पनि डिजाइन हेर्दा त्यो ओमोडा ई फाइभ फेसलिफ्ट हुने सहजै अनुमान लगाउन सकिन्छ ।
निकै आकर्षक डिजाइन र राम्रो पर्फमेन्सको कारण ओमोडा ई फाइभले नेपाली बजारमा राम्रै प्रभाव पारिरहेको छ । सन् २०२४ मा नेपाल आएको ई फाइभ २ वर्षको अवधिमा झण्डै १ हजार युनिट बिक्री भइसकेको छ ।
ओमोडा ई फाइभ एउटा फिचर लोडेड कुप्पे डिजाइनको एसयूभी हो । ई फाइभको फेसलिफ्ट मोडलमा धेरै परिवर्तन भएर आउने छ । यसको साइज ठूलो हुनुका साथै धेरै नयाँ फिचर थपिने छन् ।
साथै, सानो ब्याट्रीप्याकमा समेत आउने बताइएको छ । हाल नेपालमा बिक्री भइरहेको ई फाइभमा ६१ किलोवाट आवरको ब्याट्रीप्याक छ । नयाँ फेसलिफ्ट मोडल ५०.६ किलोवाट आवरको ब्याट्रीप्याकमा आउने अपेक्षा छ । मोटर भने हालकै ९९ किलोवाटमा आउने छ ।

ओमोडा ई फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३० एमएम, उचाइ १५५८ एमएम र ह्वीलबेस २६३० एमएम छ । फेसलिफ्ट मोडल अहिलेकोभन्दा केही लामो भएर आउने छ ।
यसको डिजाइनमा पनि परिवर्तन गरेको छ । अझ स्लिम डीआरएल, नयाँ स्प्लिट डेहल्याम्प डिजाइन, अगाडिको नोज बढी शार्प, बीचको क्रोम लाइट हटाइएको छ । जसले नयाँ ई फाइभ पहिलाको भन्दा धेरै फ्युचरिस्टक र एग्रेसिभ देखिन्छ ।
फेसलिफ्ट ओमोडा ई फाइभको इन्टेरियमा पनि केही उल्लेखनीय परिवर्तनहरू भएक छन् । जसमा अघिल्लो मोडेलको मर्ज गरिएको इन्स्ट्रुमेन्ट क्लस्टर र डिजिटल ड्यासबोर्ड डिस्प्ले हटाइएको छ । अब ठूलो तेर्सो स्क्रीन राखिएको छ । जसले अझ आधुनिक लुक ल्याउँछ ।
इन्स्ट्रुमेन्ट क्लस्टरलाई पातलो डिजिटल स्क्रीनले प्रतिस्थापन गरिएको छ । त्यस्तै, सेन्टर कन्सोल पनि रिडिजाइन गरिएको छ । अघिल्लो ग्लोस कालो क्षेत्रलाई वायरलेस स्मार्टफोन चार्जरहरू, ट्विन कपहोल्डरहरू र थोरै संख्यामा भौतिक बटनहरू समावेश गरी प्रतिस्थापन गरिएको छ ।
साइज ठूलो र धेरै फिचर थपिए पनि सानो ब्याट्रीमा आउने भएकाले फेसलिफ्ट ई फाइभको मूल्य भने केही सस्तिने अनुमान छ ।


