काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपिरष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६५.३५ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको चैत मसान्तसम्म २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा झण्डै १० करोड रुपैयाँ धेरै हो । कम्पनीले गत वर्ष चैतसम्म १४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले कर्जा प्रवाहबाट ६५ करोड ८८ लाख रुपैयाँ र फी तथा कमिशनबाट ४० करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ८३ करोड रुपैयाँ ऋण लिई ११ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६४ करोड ८१ लाख रुपैयाँ र सामान्य जगेडा कोषमा २५ करोड २४ लाख रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । अघिल्लो वर्ष ४.२२ प्रतिशत रहेको खराब कर्जा गत वर्ष २.९४ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.७७ रुपैयाँ र नेथवर्क प्रतिसेयर २०८.५ रुपैयाँ रहेको छ।
सन् २०१२ मा स्थापना भएको हुलास फिनसर्भ गोल्छा ग्रुप अन्तर्गतको कम्पनीको हो । यसको अध्यक्ष उद्योगी शेखर गोल्छा रहेका छन् ।
कम्पनीले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनी चाँडै सेयर बजारमा आउँदै छ । कम्पनीले पौने २१ लाख कित्ता आइपीओ जारी गर्न एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।


