हुन्डाई मोबिसले बनायो सबै कारमा फिट हुने इलेक्ट्रीक मोटर

काठमाडौं । दक्षिण कोरियाली कार उत्पादक समूह हुन्डाई मोटर्सको पार्टपुर्जा निर्माण गर्ने ‘हुन्डाई मोबिस’ले नयाँ इलेक्ट्रीक मोटर बनाएको छ । कम्पनीले बनाएको नयाँ इलेक्ट्रीक मोटर सबै किसिमका प्लेटफर्ममा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

हुन्डाईका अनुसार १६० किलोवाट क्षमताको ‘अल इन वान ड्राइभ युनिट’ले इलेक्ट्रीक मोटर, इन्भर्टर र रिडक्सन गियरलाई एकै स्थानमा एकीकृत गर्छ । कम्पनीले यसअघि २५० किलोवाटको इलेक्ट्रीक मोटर बनाएको थियो । नयाँ १६० किलोवाटको मोटर हुन्डाईले ‘इन हाउस’ बनाएको दोस्रो हो ।

कम्पनीको अनुसार नयाँ मोटर मूल्यका हिसाबले सस्तो हुनेछ । इलेक्ट्रीक मोटर, इन्भर्टर र पावर मोड्युल बीच सहकार्य भएको कारण लागत नै कम पर्न जाने बताइएको छ । नयाँ कुलिङ टेक्नोलोजी र निकै इफिसियन्ट पावर सेमीकन्डक्टरहरूको प्रयोग भएको कारण नयाँ मोटरको प्रदर्शन पनि उच्च रहनेछ ।

साइजको हिसाबले पनि नयाँ मोटर पहिलेको तुलनामा २० प्रतिशत सानो रहेको हुन्डाई मोबिसले दाबी गरेको छ । कम्पनीका अनुसार यो मोटर अल ह्वील ड्राइभमा आउने एसयूभीहरूमा पनि उत्कृष्ट हुनेछ । जसको संयुक्त पावर ३२० किलोवाट हुन्छ ।

हुन्डाई मोटर ग्रुपले आफ्नो नयाँ इलेक्ट्रीक मोटरको प्रयोग हुन्डाई, किया र जेनिसस ब्राण्डका नयाँ विद्युतीय मोडलहरूमा गर्नेछ । यसले हुन्डाई मोटर ग्रुपको ईभी यात्रा थप मजबुत हुने कम्पनीको अनुमान छ ।


Back_to_top