तातोपानी नाका खुलाउन पहल, सडकको अवस्था ठिकै

काठमाडौं । भदौ १४ गतेदेखि अनिश्चितकालका लागि बन्द भएको चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका खुलाउन चौतर्फी पहल गरिएको छ ।

सरकार र निजी क्षेत्रका व्यवसायीहरूले चिनियाँ दूतावासलाई तातोपानी नाका जतिसक्दो चाँडो खुलाइदिन आग्रह गरेका हुन् ।

बाढीले सडकदेखि भन्सार पूर्वाधार सबै बगाएसँगै रसुवागढी नाका भदौ १० देखि बन्द छ । वैकल्पिक रुपमा प्रयोग भइरहेको कोरला नाका पुग्ने सडक पनि हालैको बाढीले बगाएपछि चीनसँगको व्यापार ठप्प भएको छ । सवारी साधन, लत्ताकपडा, फलफूल लगायत दैंशका सामान बाटोमै अड्किएका छन् ।

चाडवाडको मुखैमा चीनसँगका सबै व्यापारिक नाका बन्द भएपछि तत्कालै संचालनमा ल्याउन सकिने तातोपानी नाका खुलाउन पहल गरिएको हो ।

सोमबार परराष्ट्र, अर्थ, र पूर्वाधार विकास मन्त्रालय र चिनियाँ दूतावासका अधिकारी सहित तातोपानी नाका खुलाउने विषयमा छलफल भएको थियो । सरकारले चीनलाई तातोपानी नाका खुलाइदिन औपचारिक रुपमै पत्र समेत पठाएको बताइएको छ।

त्यस्तै, निजी क्षेत्रका केही व्यवसायिक संगठनका प्रतिनिधिले मंगलबार चिनियाँ दूतावासका अधिकारीहरूलाई भेटेर तातोपानी नाका यथाशिघ्र खुलाइदिन आग्रह गरेका छन् ।

तर, चिनियाँ पक्षले नाक खुलाउने बारे औपचारिक प्रतिक्रिया दिएको छैन । उनीहरूले नेपालतर्फको सडकको अवस्था बारे चासो राखेको एक व्यवसायीले बताए ।

‘दशैंको मुखैमा चीनसँगका सबै व्यापारिक नाका ठप्प छन् । रसुवागढी र कोरला तत्कालै संचालन आउने अवस्था छैन । तातोपानी नाका जतिसक्दो चाँडो संचालनमा ल्याउन सरकारले पनि प्रयास गरिरहेको सुनेका छौं । हामीले पनि चिनियाँ अधिकारीलाई भेटेर आग्रह गरेका छौं,’ उनले मेरोअटोसँग भने, ‘तर, चिनियाँ पक्षले यो दिनदेखि खोल्छौं भन्ने प्रतिक्रिया दिएका छैनन् । उनीहरूले नेपालतर्फको सडक बारे चासो राखेको बुझिएको छ ।’

सरकारी टोलिसँगको छलफलमा चिनियाँ पक्षले नेपालतर्फको सडकको अवस्था राम्रो नरहेकाले व्यापार गर्न सजह हुनेमा शंका व्यक्त गरेका थिए । त्यसैले मंगलबार नेपाल सरकार र चिनियाँ दूतावासका प्रतिनिधिको टोली तातोपानी पुग्ने सडको स्थलगत निरीक्षणमा गएको छ । निरीक्षणपछि चिनियाँ टोलिले नाका खोल्नेबारे निर्णय गर्ने सम्भावना रहेको बताइएकाे छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्र प्रकाश गिरीले भने हालसम्म चिनियाँ पक्षले नाका खोल्ने बारे औपचारिक रूपमा कुनै जानकारी नगराएको बताए ।

‘नाका खोल्ने बारे हालसम्म चिनियाँ पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । तर, एक साता भित्र खुलाउने भन्ने गाइँगुई सुनिएको छ,’ उनले मेरोअटोसँग भने ।

वर्षायाम लागेसँगै तातोपानी पुग्ने सडक लगातार अवरुद्ध हुँदै आएको छ । नेपालतर्फको घट्टेखोला, लिपिङ, डाकलाङ, इको लगायत ठाउँमा पहिरो जाँदा साउनभर सडक बन्द थियो । भदौ दोस्रो साता सडक मर्मत गरी संचालनमा ल्याउने तयारी गरिरहँदा चीने नाका नै बन्द गरेको थियो ।

अहिले भने तातोपानी भन्सार पुग्ने सडकमा कुनै समस्या नरहेको सडक डिभिजन चरिकोटका इन्जिनियर नेत्र विलाश पौडेलले बताए । उनले बिग्रिएको सडक मर्मत गरी अहिले निर्वाध रूपमा सवारी संचालन भइरहेको बताए ।

‘तातोपानी भन्सार पुग्ने सडकमा कुनै समस्या छैन । विगतमा समस्या भएका ठाउँमा मर्मत सम्भार गरिसकेका छौं । अहिले निर्वाध रूपमा सवारी साधन चलिरहेका छन्,’ उनले मेरोअटोसँग भने, ‘यद्यपि, घट्टेखोला लगायत केही ठाउँमा सडक अलि साँघुरो छ । नाका खुल्ने टुंगो भएमा उक्त स्थानमा पनि एक/दुई दिनमै थप सहजीकरण गर्छौं । सकडकै कारण नाका बन्द हुने अवस्था छैन ।’

११४ किमी लामो अरनिको राजमार्गको काठमाडौंदेखि बाह्रबिसेसम्म ८५ किमीमा खासै समस्या छैन । धुलिखेल खावा खण्डमा केही बाहेक अन्यत्र सबै कालोपत्र छ । बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडक भने स्तरोन्नतिको क्रममा रहेकाले केही ठाउँमा खाल्लाखुल्डी, कच्ची रहेको छ ।


Back_to_top