केरुङ-काठमाडौं रेलमार्ग सर्भेको काम ९० प्रतिशत सकियो

काठमाडौं । नेपाल चीन अन्तरदेशीय रेलमार्ग अन्तर्गत केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनको कामले गति लिएको छ । २०८२ फागुनसम्म केरुङ-काठमाडौं रेलमार्गको भौगर्भिक अन्वेषण (सर्भे) को कार्य करिब ९० प्रतिशत सम्पन्न भएको हो  ।

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’मा केरुङ काठमाडौं रेलमार्गको उक्त प्रगति उल्लेख गरिएको हो । ‘नेपाल चीन अन्तरदेशीय रेलमार्ग अन्तर्गत केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अन्तर्गत यस आर्थिक वर्षको फागुनसम्म भौगर्भिक अन्वेषणको कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगढ ८२ किलोमिटर खण्डमध्ये बर्दिबासदेखि चोचा खण्डसम्म कुल ६८.६ किलोमिटर ट्रयाकबेड निर्माण कार्य सकिएको छ । यसै खण्डमा हालसम्म १६ वटा रेल पुलहरू निर्माण सम्पन्न भइसकेको छ ।

नेपाल र भारत जोड्ने जयनगर-जनकपुर-बर्दिबास ६९ किलोमिटर रेलमार्ग अन्तर्गत जयनगरदेखि भंगाहासम्मको ५२ किलोमिटर खण्डमा अहिले नियमित रूपमा यात्रुवाहक रेल सेवा संचालनमा रहेको छ । बाँकी १७ किलोमिटर भंगाहा-बर्दिबास खण्डका लागि जग्गा अधिग्रहणको कार्य अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी, बथनाहा-विराटनगर १८ किलोमिटर रेलमार्गमध्ये १० किलोमिटर खण्डमा रेलमार्ग निर्माण भइसकेको छ । भारतको बथनाहादेखि नेपालको कस्टम यार्ड (८ किलोमिटर) सम्म अहिले कार्गो रेल सेवा नियमित रूपमा संचालन भइरहेको सर्वेक्षणले देखाएको छ ।


Back_to_top