काठमाडौं । भारतको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड अल्ट्राभोइलेटले नयाँ इलेक्ट्रीक मोटरसाइकल एक्स ४७ सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो एक्स ४७ क्रसओभर एड्भेन्चर इलेक्ट्रीक मोटरसाइकलको सस्तो बेस भेरियन्ट भारतीय बजारमा लन्च गरेको हो । कम्पनीले भारतीय बजारमा बेस भेरियन्ट एक्स ४७ मोटरसाइकलको मूल्य २ लाख ४९ हजार भारु (एक्स शोरुम) तोकेको छ ।
नयाँ भेरियन्ट एक्स ४७ बास सिस्टममा पनि किन्न पाइन्छ । बास सिस्टममा मोटरसाइकलको मूल्य १ लाख ४९ हजार भारु मात्रै पर्छ । कम्पनीले यस नयाँ भेरियन्टलाई कम मूल्यमा एक्स ४७ को जस्तै अनुभव लिन चाहने ग्राहकलाई लक्षित गरेर बजारमा ल्याएको बताएको छ ।
कम्पनीले नयाँ बेस भेरियन्टलाई सस्तो बनाउनका लागि यसको सबैभन्दा चर्चित विशेषता (यूभी हाइपरसेन्स) राडार प्रणाली हटाएको छ । यही कारण यो भेरियन्टमा रियर कोलिजन वार्निङ, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन तथा ओभरटेक अलर्टजस्ता आधुनिक सुरक्षा फिचर उपलब्ध छैनन् । कम्पनीका अनुसार यसले ओल्ड-स्कुल राइडिङ अनुभव दिनेछ ।

यद्यपि, राडार टेक्नोलोजी हटाइए पनि अन्य धेरै उपकरण र प्रदर्शन ओरिजिनल तथा ओरिजिनल प्लस भेरियन्टकै समान राखिएको छ । नयाँ भेरियन्ट एक्स ४७ मा ७.१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ । जसले ३६.२ बीएचपी पावर उत्पादन गर्ने इलेक्ट्रीक मोटरलाई ऊर्जा प्रदान गर्छ । यसमा दिइएको मोटरले ५५० एनएम टर्क दिने कम्पनीको दाबी छ ।
यो मोटरसाइकलले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति केवल २.८ सेकेण्डमै पूरा गर्छ भने आइडीसी रेन्ज अनुसार एकपटकको चार्जमा २११ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।
फिचरको कुरा गर्दा नयाँ एक्स ४७ मा ग्लाइड, कम्ब्याट र बालास्टिक गरी तीन राइडिङ मोड, पूरा एलईडी लाइड, डिजिटल डिस्प्ले, सिंगल लेभल ट्रयाकक्सन कन्ट्रोल, तीन तहको रिजनरेटिभ ब्रेकिङ कन्ट्रोल, डुअल च्यानल एबीएस, पार्क असिस्ट, हिल होल्ड तथा टाइप सी चार्जिङ पोर्ट जस्ता सुविधा उपलब्ध छन् । कम्पनीले यसमा स्ट्याण्डर्ड चार्जर उपलब्ध गराउनेछ भने बुस्ट फास्ट चार्जर विकल्पका रूपमा दिने छ ।
कम्पनीले मोटरसाइकलमा ३ वर्ष वा ६० हजार किलोमिटरसम्मको वारेन्टी पनि प्रदान गरेको छ ।


