काठमाडौं । राइड सेयरिङ सेवा अब महँगिने भएको छ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत राइड सेयरिङ सेवामा दुई शिर्षकमा गरी ६ प्रतिशत कर लगाएको हो ।
सरकारले राइड सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत अग्रिम आयकर लगाएको हो । सरकारले बजेट मार्फत पहिलोपटक राइड सेयरिङ सेवालाई करको दायरामा ल्याएको हो ।
सरकारले आर्थिक ऐनमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५८ को दफा ७ को उपदफा ‘क’ पछि नयाँ बुँदा थप्दै राइड सेयरिङमा भ्याट लागने व्यवस्था गरेको हो ।
‘…बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति र अन्तिम उपभोक्तालाई विद्युत सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा पाँच प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नुपर्नेछ,’ आर्थिक विधेयकको दफा ५५ (१ ख) मा भनिएको छ ।
त्यस्तै, सरकारले आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै राइड सेयरिङमा १ प्र्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था गरेको हो ।
‘बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर)ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै सेवा प्रदान गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरेको सेवाबापतको रकमका एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्नेछ,’ आर्थिक विधेयकमा उल्लेख छ ।
राइड सेयरिङमा दुई शिर्षकमा ६ प्रतिशत कर थपिएसँगै अब उपभोक्तालाई भार थपिएको छ । अब टुटल, पठाओ, इन्ड्राइभ, याङ्गो जस्ता राइड सेयर चढ्दा भाडा थप ६ प्रतिशत महँगो हुने भएको छ ।


