काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ सेवाका सवारी साधनको भाडादर तोकेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गण्डकी प्रदेशमा चल्ने दुईपाँग्रे र चारपाँग्रे राइड सेयरिङको भाडादर तोकेको हो ।
मन्त्रिपरिषद्ले गत वैशाख २२ गते स्वीकृत गरेको राइड सेयरिङ नियमावली प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको छ । नियमावली लागू भएसँगै मन्त्रालयले भाडादर निर्धारण गरेको हो ।
मन्त्रालयले तोकेको भाडादरमा राइड सेयरिङले छुट दिनुपर्नेछ । छुट दिनुपर्ने रकम पेट्रोल र विद्युतीय सवारीको फरक फरक छ ।
मन्त्रालयका अनुसार दुईपाँग्रे राइड सेयरिङको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । त्यसमा प्रति किलोमिटर १६.८५ रुपैयाँ भाडा लाग्नेछ । सो अनुसार जतिसुकै कम दुरीको यात्रा गरे पनि न्यूनतम ४६.८५ रुपैयाँ भाडा लाग्नेछ । दुईपाँग्रे राइड सेयरङिले आफ्नो भाडामा पेट्रोलबाट चल्ने सवारीले १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चारपाँग्रे सवारीको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रतिकिलोमिटर ४८.५ रुपैयाँ छ । चारपाँग्रेमा २ किलोमिटरसम्मको दुरीलाई आधार भाडा १५६.५ रुपैयाँ छ । चारपाँग्रे राइड सेयरिङमार्फत जतिसुकै कम दुरीको यात्रा गरे पनि यात्रुले कम्तीमा १५६.५ रुपैयाँ भाडा तिर्नुपर्छ ।
चारपाँग्रे सवारीमा पनि पेट्रोलबाट चल्नेले १० र विद्युतीय सवारीले १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ ।
सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमै अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।


