बजेटपछि मूल्य बढेका र घटेका कारहरू

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटपछि धेरै कम्पनीहरुले आफ्नो मूल्य समायोजन गरेका छन् । खासगरी कम्पनीहरुले धेरै मोडलको मूल्य बढाउनु पर्ने अवस्था बजेटले सृजना गरेको बताउँदै मूल्य समायोजन गरेको दावी गरेका छन् ।

यसअघि मोटर पावरको आधारमा कर लगाइएको थियो । नयाँ बजेटले कारको मूल्यका आधारमा कर निर्धारण गर्ने बाटो लिएको छ । यसले अटो क्षेत्रमा पार्ने दिर्घकालीन असर देख्नेहरु पनि प्रसस्तै भेटिन्छन् ।

सरकारले सीआइएफ मूल्यमा आधारित भएर कर लगाउने भएसँगै २० लाखभन्दा कम मूल्यका कारमा १/२ प्रतिशत मूल्य घटाउन सक्ने अवस्था आयो । अझ, १०० किलोवाट माथिका कारमा पनि मूल्य कम भएपनि धेरै कर लाग्दै आएको कारण नयाँ नीति अनुसार कर घट्यो ।

करको दरमा परिवर्तन आउँदा सबैभन्दा पहिला मूल्य घटाउने ब्राण्ड लीपमोटर बन्यो । लीपमोटरले आफ्नो बी-१० एसयूभीमा ५ लाख मूल्य घटायो । यसका अलावा स्काइवेलले पनि आफ्नो एसयूभीमा १५ लाखसम्मको मूल्य कटौती गर्यो ।

सुजुकीले आफ्नो इ भिटारा एसयूभीमा १ लाख रुपैयाँ मूल्य घटायो । माथिल्ला भेरियन्टको इ भिटारामा ५ लाखसम्म मूल्य घटाइएको सीजी मोटोकर्पले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस बाहेक मूल्य घटेको घोषणा अन्य कुनै ब्राण्डले गरेका छैनन् । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले एस फाइभको लक्जरी भेरियन्टमा १ लाख रुपैयाँले मूल्य बढायो । एमजी एस सिक्समा भने २ लाख रुपैयाँले मूल्य वृद्धि भएको छ ।

जिलीले पनि आफ्नो एसयूभी इएक्स फाइभको मूल्य बढायो । कम्पनीले भेरियन्ट अनुसार दुबैमा ३/३ लाख रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

चेरीको न्यू इनर्जी ब्राण्ड जेको र आइकारको पनि मूल्य बढ्यो । आधिकारीक बिक्रेता एसपीजी अटोमोबाइलले जेको जे सिक्स टीमा १ लाख रुपैयाँले मूल्य बढ्यो । जबकी आइकार भी-२३ मा ३ लाख रुपैयाँले मूल्य बढेको हो ।

दिपलको एस-०५ को मूल्य पनि ४ लाख रुपैयाँसम्मले बढ्यो । कम्पनीले एस-०५ प्लस मोडलमा ४ लाख रुपैयाँ र म्याक्स मोडलमा ३ लाख रुपैयाँले मूल्य बढाएको हो ।

बजेटको सर्वाधिक असर परेको बीएमडब्लू आइएक्स वानको मूल्य १ करो ३० लाख रुपैयाँले वृद्धि भएको छ । अर्को धेरै नै करको मार परेको महिन्द्राका ईभीमा अहिलेसम्म मूल्य चलाइएको छैन ।

हुन्डाई, टाटा, बीवाइडी, नामी लगायतका ब्राण्डले पनि अहिलेसम्म नयाँ मूल्यका विषयमा केही जानकारी बाहिर ल्याएका छैनन् ।


Back_to_top