काठमाडौं । चीनमा कार निर्माताको तुलनामा ब्याट्री उत्पादकले कयौं गुणा नाफा कमाएको छ । विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले सन् २०२६ को पहिलो तीन महिनामै २०.७ अर्ब युआन नाफा कमाएको हो ।
चिनियाँ संचार माध्यम सिना अटोका अनुसार सीएटीएलको नाफा बीवाइडी, जिली, चेरी, एसएआइसी, ग्रेटवाल मोटर्स, सेरेस र चांगन जस्ता ७ ब्राण्डको संयुक्त नाफाभन्दा धेरै हो । यी ७ कम्पनीको मिलाएर जम्मा १७.५ अर्ब युआन मात्रै नाफा कमाएका छन् ।
चिनियाँ ब्याट्री जाइन्ट सीएटीएलले पहिलो त्रैमासिक अवधिमा ५९.५२ गिगावाट आवर ब्याट्री बिक्री गरेको छ । यो बिक्रीसँगै उसको बजार हिस्सा ४६.४ प्रतिशत पुगेको छ । चीनमा ईभीको बिक्रीमा केही सुस्तता आए पनि सीएटीएलले ३.४७ प्रतिशतले बजार बढाएको देखिन्छ ।
तीन महिनाको अवधिमा सीएटीएलले १२९.१३ अर्ब युआनको व्यापार गरेको थियो । चिनियाँ स्टार्टअप कार निर्माताहरू ली अटो, नियो, एक्सपेङ जस्ता ब्राण्डको संयुक्त व्यापार रकमभन्दा बढी सीएटीएल एक्लैले गरेको देखिन्छ ।
पहिलो त्रैमासमा कसको नाफा कति ?
सीएटीएल : २०.७ अर्ब युआन
चेरी : ४.१७ अर्ब युआन
जिली : ४.१६ अर्ब युआन
बीवाइडी : ४.०८ अर्ब युआन
एसएआइसी : ३.०२ अर्ब युआन
जीडब्लूएम : ९४.५ करोड युआन
सेरेस : ७५.४ करोड युआन
चांगन : ३५.१ करोड युआन


