काठमाडौं । नेपालमै पहिलोपटक एकैपटक २२० जनासम्म यात्रु बोक्न सक्ने आर्टिकुलेटेड बस ल्याउने तयारी थालिएको छ । शशिला मोटर्स प्रालिले फेन्सर कम्पनीको आर्टिकुलेटेड विद्युतीय बस ल्याउन आवश्यक तयारी थालेको हो ।
पूर्वाधार विकास मन्त्रालयले हालै सार्वजनिक गरेको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ (केएसयूटीपी) अन्तर्गत तयार पारिएको प्रतिवेदनमा उपत्यकामा ठूला आर्टिकुलेटेड बस संचालन गर्न सुझाव दिइएको छ ।
एडीबीको सहयोगमा सन् २०१४ मा तयार पारिएको प्रतिवेदनले उपत्यकाका २०० बढी रुटलाई खारेज वा समायोजन गरी ३ श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरिएको छ । जसमा रुटलाई प्राथमिक, माध्यमिक र तृतीयकमा विभाजन गरिएको छ । तीमध्ये प्राथमिक रुटमा १२ देखि १८ मिटर लामा ठूला बस संचालन गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैलाई मध्येनजर गर्दै ठूला बस ल्याउन आवश्यक तयारी थालिएको शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए । उनले सरकारले उक्त योजना चाँडै कार्यन्वयनमा ल्याएमा आफूहरू १८ मिटर लामो आर्टिकुलेटेड बस ल्याउन तयार रहेको बताए ।
उनले चीनको फेन्सर कम्पनीले उत्पादन गरेको बस आफूहरूले हेरिसकेको समेत बताए । यद्यपि, हालसम्म कुनै यातायात समिति वा सरकारी निकायले उक्त बस ल्याउन अर्डर भने नगरेको उनको भनाइ छ ।
‘१२ वर्षअघि एडीबीले तयार पारेको प्रतिवेदनमा काठमाडौंका प्राथमिक रुटमा ठूला आर्किलेटेड बस संचालन गर्न सुझाव दिएको छ । सरकारले त्यसलाई कार्यान्वयन गर्ने हो भने हामी उक्त बस तत्कालै ल्याउन तयार छौं । चीनमा उत्पादन हुने फेन्सर कम्पनीको बस समेत हेरिसक्यौं,’ उनले मेरोअटोसँग भने ।
यद्यपि, आर्टिकुलेटेड बस निकै महँगो हुने उनले बताए । हाल अन्तर्राष्ट्रिय बजारमा उक्त बसको मूल्य ३ लाख अमेरिकी डलर रहेको छ । नेपाल आइपुग्दा करका कारण ६ करोड रुपैयाँ माथि पर्ने देखिन्छ ।
महानगर यातायात प्रालिका अध्यक्ष समेत रहेका खतिवडाले निकट भविष्यमा आफूहरूले आर्टिकुलेटेड बस ल्याएर संचालन गर्ने योजना समेत बनाएको बताए । महानगरले हालै चक्रपथमा १६ वटा ईभी बस संचालनमा ल्याएको छ ।
उनका अनुसार उक्त आर्टिकुलेटेड बस अहिले काठमाडौं उपत्यकाको चक्रपथमा संचालन गर्न सकिन्छ । एयरपोर्टदेखि कलंकीसम्म सहजै संचालन गर्न सकिने उनको भनाइ छ । यद्यपि, यसमा लागि छुट्टै डेडिकेटेड लेन चाहिने उनले बताए । निकै ठूलो हुने भएकाले भित्रि सडकमा भने चलाउन असहज हुने उनको भनाइ छ ।
आर्टिकुलेटेड बसले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात क्षेत्रमा कायापलट गर्नसक्ने उनले बताए । फेन्सर कम्पनीको आर्टिकुलेटेड बसमा ६४ वटा सिट रहेका छन् । यात्रुहरू उभिएर एकपटमा करिब २२० जनासम्मले यात्रा गर्न सक्ने उनले बताए ।
‘आर्टिकुलेटेड बसले काठमाडौंको सार्वजनिक यातायात क्षेत्रमा कायापलट गर्न सक्छ । यसले एकैपटक २२० जना मान्छे बोक्न सक्छ,’ उनले भने, ‘जसले जाम घटाइ सुविधायुक्त यात्रा गराउँछ ।’
शशिलाले निकैट भविष्यमा ल्याउने भनिएको फेन्सरको आर्टिकुलेटेड बसमा ८०० किलोवाट आवरको ब्याट्री रहेको छ । आर्टिकुलेटेड बस निकै ठूलो हुन्छ । झट्ट हेर्दा रेल जस्तै देखिन्छ । यसमा दुईवटा लामा बसलाई एकआपसमा जोडिएको हुन्छ । जसले मोड्दा बसलाई सजिलै घुम्न मद्दत गर्छ।
यसमा यात्रुका लागि अरामदायी सिट हुन्छन् । उभिनका लागि ‘स्ट्र्याप ह्याण्डल’ राखिएको हुन्छ । यसमा यात्रु चढ्न-झर्न ३/४ वटा ढोका हुन्छन् । लो फ्लोर डिजाइन भएकाले वृद्धवृद्धा, बालबालिका र अपांगता भएका व्यक्तिलाई चढ्न-ओर्लन सजिलो हुन्छ ।


