काठमाडौं । नेपालमा दिपल, नामी र सेरेस ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ईभी वर्कसप सञ्चालनमा ल्याएको छ । कम्पनीले मंगलबार आयोजित एक कार्यक्रममा नयाँ वर्कसपको औपचारिक उद्घाटन गरेको हो ।

वर्कसपको उद्घाटन एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, डोंगफेंग मोटर्सकी दक्षिण एशिया क्षेत्रीय बिक्री निर्देशक हे जिसिन, क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरे ।
कम्पनीका अनुसार नयाँ वर्कसप दिपल, नामी र सेरेसका ग्राहकलाई बिक्रीपछिको सेवा थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउन केन्द्रित छ । एमएडब्लु वृद्धिले यसलाई केवल सर्भिस सेन्टरका रूपमा नभई ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को अवधारणासँग जोडिएको ग्राहक केन्द्रित पूर्वाधारका रूपमा प्रस्तुत गरेको छ।
बालकुमारीस्थित यो ईभी वर्कसपमा ९ वटा डेडिकेटेड सर्भिस बे छन्। यहाँ २४ जना सर्टिफाइड ईभी टेक्निसियन परिचालन हुनेछन् । उनिहरुले दैनिक ३६ भन्दा बढी विद्युतीय सवारीसाधन सर्भिस गर्न सक्ने कम्पनीको दाबी छ ।
वर्कसपमा अत्याधुनिक ईभी ब्याट्री डायग्नोस्टिक सिस्टम जडान गरिएको छ । जसले ब्याट्रीसम्बन्धी समस्या पहिचान र परीक्षणलाई थप प्रभावकारी बनाउने कम्पनीको दावी छ ।
करिब १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो वर्कसपमा स्पेयर पार्ट्स भण्डारण सुविधा, प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि छुट्टै ट्रेनिङ रुम तथा ग्राहकका लागि प्रतिक्षालयको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यी पूर्वाधारले ग्राहकलाई ‘प्रिमियम ओनरसिप एक्सपिरियन्स’ उपलब्ध गराउने छ ।
एमएडब्लु वृद्धिले यो सर्भिस सेन्टरमार्फत काठमाडौं उपत्यकाभित्र पिकअप एन्ड ड्रप अफ सेवा, फास्ट ट्र्याक सर्भिस, २४ सै घण्टा सातै दिन ब्रेकडाउन असिस्टेन्स तथा डेडिकेटेड सर्भिस हटलाइनसमेत उपलब्ध गराउने जनाएको छ ।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेका बेला बिक्रीपछिको सेवा पूर्वाधार विस्तारलाई बजारमा ब्रान्ड प्रतिस्पर्धाको महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ । यस्तो अवस्थामा एमएडब्लु वृद्धिले नयाँ ईभी वर्कसपमार्फत आफ्ना ब्रान्डका ग्राहकलाई छिटो, प्राविधिक रूपमा सक्षम र व्यवस्थित सेवा दिने तयारी गरेको देखिन्छ।


