काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो पहिलो मल्टी पर्पज भेहिकल (एमपीभी) डी ९९ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार चिनियाँ बजारमा डी ९९ बिक्री सुरू गरेको हो ।
कम्पनीले डी ९९ प्योर ईभी र ईआरईभी दुवै भर्सनमा ल्याएको हो । कम्पनीले इआरईभीको सुरूवाती मूल्य ३६ हजार ७०० अमेरिकी डलर र प्योर ईभीको सुरूआती मूल्य ३८ हजार २०० अमेरिकी डलर तोकेको छ । ६ भेरियन्टमा उपलब्ध डी ९९ टप भेरियन्टको मूल्य ४७ हजार डलर रहेको छ ।
युरोपियन अटो जायन्ट स्टेलान्टिसको लगानी हरेको लीपमोटरले डी ९९ को डेलभरी जुलाई २० देखि सुरू गर्ने जनाएको छ । ईआरईभी भर्सनमा ८०० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा बनेको छ । यसमा ८०.३ किलोवाट आवरको ठूलो ब्याट्री प्याक छ । यसमा कुल ३०० किलोवाटको डुअल मोटर छन् । यसको कम्बाइन्ड रेन्ज १,१६० किलोमिटर रहेको छ ।
त्यस्तै, बीईभी भर्सन पूर्ण स्ट्याक १,००० भोल्टको हाइ भोल्टेज प्रणाली प्रयोग गरिएको छ । यसमा सीएटीएलको ११५ किलोवाट आवरको सुपर हाइब्रिड सेल पहिलो पटक प्रयोग गरिएको छ । जसले एकपटकको फुलचार्जमा ७०० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिन्छ।
दुवै पावरट्रेन भर्सनले फास्ट चार्जिङ सपोर्ट गर्दछन् । करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । बीईभी भर्सनले मात्र ५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ ।
डी ९९ को लम्बाइ ५२८० एमएम, चौडाइ १,९९५ एमएम, उचाइ १,८८० एमएम र ह्वीलबेस ३,११० एमएम रहेको छ ।
७ सिट क्षमताको डी ९९ मा २ं२ं३ को सिट लेआउट रहेको छ। जुन आराम र बिजनेस क्लासको अनुभव चाहने पारिवारिक प्रयोगकर्ताहरूलाई लक्षित छ । यसको दोस्रो लहरमा जिरो ग्र्याभिटी एभिएसन सिटहरू छन् । जसलाई १८० डिग्री घुमाउन सकिन्छ । यसमा ९० डिग्री भ्युइङ मोड पनि छ । तेस्रो लहरको सिटहरूलाई पूर्ण रूपमा फ्याट बनाएर एउटा छुट्टै ओछ्यान बनाउन सकिन्छ।
यस मोडलले धेरै स्पेस मोडहरू प्रदान गर्दछ, जहाँ दोस्रो र तेस्रो लहरलाई जोडेर झन्डै २.५ मिटर लामो ओछ्यान बनाउन सकिन्छ । यो गाडीभरि ४३ वटा स्टोरेज ठाउँहरू छन् । यसको ट्रंक क्षमता ७०६ लिटर रहेको छ।
डी ९९ एमपीभीमा ककपिट र स्मार्ट ड्राइभिङका लागि उद्योगमै पहिलो पटक एकीकृत सेन्ट्रल डोमेन कन्ट्रोलर जडान गरिएको छ। यसमा डुअल क्वालकम ८७९७ चिप्स प्रयोग गरिएको छ । जसको संयुक्त कम्प्युटिङ पावर १,२८० टीओपीएस रहेको छ। यसमा भीआरए ठूलो मोडल असिस्टेड ड्राइभिङ प्रणाली समावेश गरिएको छ।
ककपिटमा फाइभ स्क्रीन थ्री डाइमेन्सनल स्मार्ट इन्टर्याक्सन प्रणाली छ, जसमा ५० इन्चको एआर एचयूडी हेड अप डिस्प्ले र २१.४ इन्चको पछाडिको मनोरञ्जन स्क्रीन समावेश छ। यस प्रणालीमा एउटा इन बिल्ट एआई फ्यामिली छ । जसले ६ जोन भ्वाइस इन्टर्याक्सनलाई सपोर्ट गर्दछ ।


