काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (ईभी)का लागि छुट्टै बीमालेख ल्याउने तयारी थालेको छ । प्राधिकरणले ईभीको बढ्दो प्रयोगलाई मध्येनजर गर्दै नयाँ बीमालेख ल्याउन आवश्यक गृहकार्य सुरु गरेको हो ।
प्राधिकरणले ईभीका लागि विद्यमान मोटर बीमालेख परिमार्जन गर्ने वा छुट्टै नयाँ बीमालेख जारी गर्ने विषयमा सुझाव लिन सुरु गरेको छ । यसैक्रममा, प्राधिकरणले ईभीको नयाँ बीमालेख ल्याउन सरोकारवाला निकायहरूसँग छलफल गरेको छ ।
प्राधिकरणले नेपाल अटोमोबाइल इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा), प्राधिकरणले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा), रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स, नेपाल सर्भेयर संघ र बीमक संघका प्रतिनिधिसँग अन्तरक्रिया गरेको हो ।
प्राधिकरणले ईभीको बीमा, क्षति मूल्यांकन, जोखिम, मर्मत सम्भारका चुनौती र प्रविधिको माध्यमबाट बीमा पहुँच बढाउने वैकल्पिक वितरण प्रणालीका विषयमा छलफलमा गरेको हो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बजारमा ईभीको संख्या तीव्र रूपमा बढिरहेकाले परम्परागत बीमालेखको सट्टा छुट्टै ईभी बीमालेख ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले जोखिम विश्लेषणका लागि ईभीको आयात, बिक्री, क्षति र दाबी भुक्तानीको सही तथ्यांक राख्न सम्बद्ध सबै पक्षसँग आग्रह गरे।
‘नेपालमा ईभीको प्रयोग बढ्दो छ । त्यसैलाई मध्येनजर गर्दै ईभीका लागि छुट्टै बीमा पोलिसी ल्याउने तयारी गरिएको हो । विद्यमान पोलिसी परिमार्जन गर्ने कि नयाँ पोलिसी ल्याउने भनेर सरोकारवालहरूसँग सुझाव लिइरहेका छौं,’ उनले भने । सबैबाट सुझाव लिइसकेपछि ईभी बीमा पोलिसी निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।


