काठमाडौं । विगत ५/६ वर्षदेखि निरन्तर विश्वकै ठूलो अटो निर्माता बन्दै आएको जापानी ब्राण्ड टोयोटाका विषयमा अहिले धेरै तुक्का बन्न थालेका छन् । कम्पनीका सीईओले केही दिन अघि अब आफू एक्लै ईभीसँग जुध्न नसक्ने बताएसँगै अटो बजारमा नयाँ चर्चा सुरू भएको हो ।
कम्पनीका नयाँ सीईओ केन्ट कोनको भनाइपछि विभिन्न अड्कलबाजी चल्दै आएको छ । धेरैले अब टोयोटा ईभीको लागि पूर्ण तयार भएको मानेका छन् । केहीले टोयोटाले विगतमा लिएको रणनीति गलत भएको उनले स्वीकार गरेका छन् भन्ने बताइरहेका छन् ।
तर, उनको भनाइ र टोयोटाको तयारी हेर्दा प्योर ब्याट्री इलेक्ट्रीक भेहिकलमा कम्पनी आक्रमक बन्ने बाटोमा गएको बुझ्न सकिन्छ । हाइब्रिड गाडीमा बलियो उपस्थिति बनाएको टोयोटा प्योर ईभीमा भने अहिले निकै कमजोर छ ।
कम्पनीले २०२६ पछि नयाँ पुस्ताको ब्याट्री, प्योर ईभी प्लेटफर्म र सोलिड स्टेट ब्याट्रीमार्फत बजारमा आक्रामक प्रवेश गर्ने योजना सार्वजनिक गरिसकेको छ ।
टोयोटाको ईभी रणनीतिमा तीन प्रकारका नयाँ ब्याट्रीलाई मुख्य हतियार बनाउन खोजेको देखिन्छ । पहिलो, ‘परफर्मेन्स ब्याट्री’, जसलाई कम्पनीले २०२६ को अन्तिमसम्ममा उत्पादनमा लैजाने लक्ष्य राखेको छ । यो ब्याट्रीले हालको बीजेडफोर एक्स जस्ता मोडलको तुलनामा लागत करिब २० प्रतिशत घटाउने, १० देखि ८० प्रतिशतसम्म चार्ज हुन २० मिनेट हाराहारी समय लाग्ने र झण्डै १,००० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।

दोस्रो, ‘पपुलराइजेसन ब्याट्री’ हो । तुलनात्मक रूपमा सस्तो र ठूलो संख्यामा बिक्री हुने ईभीका लागि यो ब्याट्री प्रयोग गर्ने कम्पनीले लक्ष्य राखेको छ । उक्त ब्याट्री एलएफपी केमिस्ट्रीमा आधारित हुने छ ।
कम्पनीका अनुसार यो ब्याट्रीको लागत करिब ४० प्रतिशतसम्म घटाउन प्रयास भइरहेको छ । बीजेडफोर एक्समा प्रयोग भएको ब्याट्रीभन्दा करिब २० प्रतिशत बढी रेन्ज र १० देखि ८० प्रतिशत चार्ज ३० मिनेटभित्र गर्न सक्नेगरी आउने छ ।
तेस्रो ब्याट्री सन् २०२७-२८ तिर बजारमा ल्याउने लक्ष्य राखिएको छ । यो हाइ परफर्मेन्स बाइपोलर लिथियम आयन ब्याट्री हुनेछ । यसको विकासमा कम्पनीले सफता पाउँदैछ ।
टोयोटाले ईभी उत्पादनलाई गति दिन ईभी फ्याक्ट्री छुट्टै बनाएको छ । नयाँ फ्याक्ट्री ईभी प्लेटफर्म, ब्याट्री प्याकेजिङ र उत्पादन प्रक्रियालाई सरल बनाउन सक्षम छ । कम्पनीले उत्पादन लागत घटाउन र उत्पादन दक्षता बढाउन गिगाकास्टिङ जस्ता नयाँ म्यानुफ्याक्चरिङ अवधारणा पनि अघि सारेको छ ।
के हुँदैछ सोलिड स्टेट ब्याट्री प्रोजेक्ट
ईभी उत्पादनमा टोयोटाको नाम आउने बित्तिकै सबैभन्दा बढी चासो हुने विषय ‘सोलिड स्टेट ब्याट्री’ हो । कम्पनीले यो प्रविधिलाई २०२७-२८ भित्र व्यावसायिक प्रयोगमा ल्याउने जानकारी दिएको छ । टोयोटाका अनुसार सोलिड स्टेट ब्याट्रीले अझ छिटो चार्ज गर्न सकिने, हलुका र लामो रेन्ज दिन सक्ने छ । पहिलो चरणको सोलिड स्टेट ब्याट्रीबाट १० मिनेट वा त्योभन्दा कम समयमा १०-८० प्रतिशत चार्ज हुने र परफर्मेन्स ब्याट्रीभन्दा करिब २० प्रतिशत बढी रेन्ज दिने लक्ष्य राखेर उत्पादनमा जान खोजेको मानिन्छ ।
जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले पनि टोयोटाको सोलिड स्टेट तथा नेक्स्ट जेनेरेशन ब्याट्री उत्पादन योजनालाई औपचारिक मान्यता दिएको छ ।
टोयोटा ईभीको रेसमा अझै पछाडि
कम्पनीसँग ठोस योजना भए पनि प्योर ईभी प्रतिस्पर्धा निकै पछाडि देखिन्छ । टेस्ला, बीवाइडी, हुन्डाई जस्ता कम्पनीहरूले ईभी बजारमा पहिले नै बलियो उपस्थिति बनाएका छन् । अझ दर्जनौं चिनियाँ ब्राण्ड निकै बलियो छन् ।
टोयोटाको ईभी बिक्री भने बढ्दो क्रममा भए पनि विश्वव्यापी बिक्रीको अनुपातमा अझै सानो छ । सन् २०२५ मा टोयोटाले ब्याट्री इलेक्ट्रीक कार केबल १ लाख ९० हजार युनिट पूरा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशतले वृद्धि हो । तर, प्रतिस्पर्धीसँग तुलना गर्न मिल्ने उत्पादन होइन ।
यसले के देखाउँछ भने, टोयोटा अहिलेको ईभी दौडमा अग्रपंक्तिमा नभए पनि २०२६ को अन्तिमबाट ल्याउने नयाँ ब्याट्री र उत्पादन रणनीति सफल भएमा छिट्टै बलियो बन्न सक्ने ब्राण्ड हो । तर, त्यसको वास्तविक परीक्षा भने अबका दुई/तीन वर्षभित्र बजारमा आउने नयाँ मोडल र तिनको बिक्रीले गर्नेछ ।


