काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) र पेट्रोलियम पदार्थबाट चल्ने कारको बीचमा आएको प्लगइन हाइब्रिडमा ब्याट्रीको समस्या धेरै देखिने गर्छ ।
छोटो दूरीको लागि ईभी मोडमा र लामो यात्राका लागि पेट्रोल इन्जिनको प्रयोग गर्ने सुविधा प्लगइन हाइब्रिड कारमा हुन्छ । यही कारण पीएचईभीलाई ‘बेस्ट अफ बोथ वल्ड्र्स’ प्रविधिका रूपमा प्रस्तुत गरिँदै आएको हो ।
तर, वास्तविक प्रयोगमा देखिएका केही तथ्यांकले पीएचईभीको ब्याट्री सम्बन्धी अर्को पक्ष देखिन थालेका छन् । विशेषगरी ब्याट्री हेल्थ, सेल फेलियर र ब्याट्रीप्याक सम्बन्धी समस्या प्लगइन हाइब्रिड कारमा धेरै आइरहेका छन् ।
ब्याट्री सम्बन्धी समस्या ईभीको तुलनामा प्लगइन हाइब्रिड कारमा धेरै आउन थालेको विभिन्न रिसर्च रिपोर्टहरूले पनि औंल्याएका छन् ।
यसको एउटा प्रमुख कारण पीएचईभीमा प्रयोग हुने तुलनात्मक रूपमा सानो ब्याट्री प्याक हो । धेरै प्योर ईभीमा ५०–८० किलोवाट आवर वा त्यसभन्दा ठूलो ब्याट्री प्रयोग हुँदै आएका छन् ।
पीएचईभीमा त्यसको तुलनामा निकै सानो ब्याट्री हुन्छ । यस्तो ब्याट्रीबाट तीव्र एक्सेलेरेसन वा ओभरटेकिङका क्रममा उच्च पावर माग हुँदा ब्याट्रीको क्षमताको अनुपातमा डिस्चार्ज रेट तुलनात्मक रूपमा उच्च हुन सक्छ । यसले ताप र विद्युतीय तनाव बढाउन सक्छ ।
अर्को महत्वपूर्ण पक्ष चार्ज र डिस्चार्ज साइकल हो । सानो ब्याट्री भएकाले पीएचईभीले एउटै दूरी तय गर्दा ठूलो ब्याट्री भएको ईभीको तुलनामा बढी पटक चार्ज र डिस्चार्ज गर्नुपर्ने हुन्छ ।
उदाहरणका लागि, समान ४० हजार किलोमिटर विद्युतीय दूरी तय गर्दा पीएचईभीको ब्याट्रीले तुलनात्मक रूपमा धेरै साइकल पूरा गर्न सक्छ । लामो अवधिमा यस्तो प्रयोगले ब्याट्रीको क्षमतामा प्रभाव पार्छ । तर, यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने ब्याट्रीको आयुमा साइकलको संख्या मात्र निर्णायक हुँदैन । ब्याट्रीको रसायन, तापक्रम, चार्जिङ तरिका, चार्जको अवस्था र गाडीको ब्याट्री व्यवस्थापन प्रणाली पनि हेर्नुपर्छ ।
प्रयोगकर्ताको व्यवहारले पनि पीएचईभीको ब्याट्रीमा समस्या आउन सक्छ । नियमित चार्ज गर्नुको सट्टा गाडीलाई पेट्रोल इन्जिनमै लामो समय चलाउने गर्दा पनि ब्याट्री बिग्रन सक्छ । लामो समय ब्याट्रीलाई कम चार्जमा राख्दा पनि ब्याट्रीमा समस्या आउँछ ।
तापक्रम र ब्याट्री व्यवस्थापन प्रणालीले पनि यहाँ महत्वपूर्ण भूमिका खेल्छ । लिथियम-आयन ब्याट्री अत्यधिक गर्मी वा चिसोमा फरक व्यवहार गर्छ । आधुनिक पीएचईभी र ईभीमा ब्याट्री थर्मल म्यानेजमेन्ट तथा ब्याट्री म्यानेजमेन्ट सिस्टम प्रयोग हुने भए पनि वास्तविक जीवनमा चार्जिङ, ड्राइभिङ र पार्किङको अवस्थाले ब्याट्रीमा पर्ने तनाव फरक पार्न सक्छ ।
यहाँ भुल्नै नहुने अर्को कुरा पीएचईभीमा दुई पावरट्रेन हुन्छ । ब्याट्री, इलेक्ट्रीक मोटर र पावर इलेक्ट्रोनिक्ससँगै यसमा पेट्रोल इन्जिन, गियरबक्स, इन्धन प्रणाली र उत्सर्जन नियन्त्रण सम्बन्धी कम्पोनेन्ट हुन्छन् । त्यसैले प्योर ईभीभन्दा यसको मेकानिकल तथा इलेक्ट्रीकल प्रणाली जटिल हुन्छ ।
त्यसैले पीएचईभीको वास्तविक फाइदा लिन नियमित चार्जिङ, निर्माता कम्पनीले तोकेको चार्जिङ विधिको पालना र लामो समयसम्म ब्याट्रीलाई अत्यन्त न्यून चार्ज अवस्थामा नराख्ने काम गाडीधनीले गर्नुपर्छ ।

