पहिला हातमा गन्ने ग्राहक थिए, अहिले ब्राण्ड नै ब्राण्ड छन् : राजन पिया (भिडियोसहित)

चितवन । करिब २७/२८ वर्ष अगाडि चितवनमा कारको बजार बलियो हुनसक्छ भन्ने सपना बुनेर डिलरसिप लिने व्यक्ति हुन् राजन पिया । चितवन अटोमोबाइल्स एशोसिएसन (काडा)का निवर्तमान अध्यक्ष समेत रहेका पिया भरतपुर क्षेत्रमा कारको व्यापार गर्नेहरू सबैले सम्झने नाम हो । उनले कारको बिक्री थाल्दा जिल्लामै हातमा गन्न मिल्ने ग्राहक थिए ।

मेरोअटोले ग्राउन्ड रियालीटी कार्यक्रम चितवनमा गर्दा पनि सबैभन्दा सक्रिय र टिमलाई जोड्न लागेका पियाको नजरमा बजार अहिले निकै चुनौतीपूर्ण छ । उनी भन्छन्, ‘बजारमा अवसर र चुनौती उत्तिकै छ । कतिपय कुरा आयातकर्ता रिसाउँछन् भनेर पनि डिलरहरू चुपचाप बसेका छन् ।’

चितवनमा निर्माण भएका पूर्वाधार, बसाइँसराइ र पूर्व र पश्चिमको मध्येभागमा रहेको कारण आर्थिक गतिविधि तीव्र हुने भएको कारण यहाँ कारको व्यापार थप बढ्न सक्ने पिया बताउँछन् ।

उनका अनुसार अहिले पनि चितवनमा वार्षिक ११०० हाराहारी नयाँ कार बिक्री हुन्छन् । तर, बढ्दो चिनियाँ ब्राण्डको कारण प्रतिस्पर्धा भने कडा चलिरहेको छ । ३/४ वटा ब्राण्डले राम्रै संख्या भेट्टाए पनि अरूको अवस्था चल्नै मुस्किल पर्ने खालको छ ।

उनै पियासँग ‘ग्राउण्ड रियालीटी’मा भएको कारको बजार, पूर्वाधार, सर्भिस लगायतका विषयमा भएको कुराकानीको सम्पादित अंश भिडियोमा हेर्नुहोला ।


Back_to_top