कहिले बजारमा आउँछ ‘इमास फाइभ’ ? यस्तो छ तयारी

काठमाडौं । प्रोटोनले आफ्‌नो नयाँ आउँदै गरेको गाडी इमास फाइभको सामाजिक संजालमा पोस्टहरू हाल्न थालेको छ । कम्पनीले छिट्टै बजारमा ल्याउन लागेको विद्युतीय कारको विज्ञापन सामाजिक संजालमा रहेको आफ्‌नो आधिकारिक पेजबाट सुरू गरेको हो ।

मलेसियन ब्राण्ड प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन इमास फाइभको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको टिजरमा इमास फाइभको अगाडिको भाग र एउटा पाङ्ग्रा देखाइएको छ ।

जगदम्बा मोटर्सले सार्वजनिक गरेको टिजरमा लेखिएको छ, ‘मलेशियाको हाइएस्ट सेलिङ ईभी अब विश्वकै सर्वाेच्च शिखर भएको भूमिमा ।’ कम्पनीले ह्यासट्याग लाइन भने ‘ड्राइभिङ रि-डिफाइन’ राखेको छ ।

प्रोटान इमास फाइभ एउटा ह्याच ब्कयाक मोडल हो । मलेसियामा बिक्री सुरू हुने बित्तिकै यसले सेग्मेन्ट लिडर बनेर अगाडि बढेको छ । यस्तोमा नेपाली बजारमा पनि यसले राम्रो गर्ने अनुमान सुरू भएको छ ।

जगदम्बा मोटर्सले जुन दोस्रो साता नेपालबाट केही मिडियाकर्मी र कन्टेन्ट क्रियटरहरूलाई मलेसिया लगेर गाडी देखाएको थियो । अब त्यही गाडी नेपालमा बिक्री सुरू गर्न लागेको हो ।

कम्पनी स्रोतका अनुसार असार अन्तिम वा साउन पहिलो साताबाट इमास फाइभको बिक्री सुरू हुनेछ । ‘हामीले सबैखाले तयारीलाई तीव्रता दिएका छौं । केही दिनमै बिक्री सुरू हुने मिति टुङ्गो लाग्ने छ,’ कम्पनी स्रोतले भन्यो ।

प्रोटोन इमास फाइभ ह्याचब्याक कार दुई भेरियन्टमा नेपाल आउने अनुमान गर्न सकिन्छ । जसमा ब्याट्री साइज फरक हुनेछ । मलेसियामा जस्तै ३०.१२ किलोवाट आवर र ४०.१६ किलोवाट आवरको एलएफपी ब्याट्रीमा इमास फाइभ आउने छ ।

सुरक्षा फिचरको रूपमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट (एडास), भेहिकल टु लोड, १४.६ इन्चको एफएचडी डिस्प्ले, पावर्ड टेलगेट, पछाडि मल्टी लिंक सस्पेन्स र १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ । प्रोटोनको ह्याचव्याक कार रियर ह्वील ड्राइभ सिस्टमको साथ बजारमा आउने छ ।

इमास फाइभ ह्याचब्याकमा ११ इन १ इलेक्ट्रीक मोटर प्रयोग भएको छ । ब्याट्री साइज अनुसार मोटर साइज पनि फरक रहने छ । जसमा ५८ र ८५ किलोवाट क्षमताको मोटर रहनेछ ।

डीसी चार्जरको सहायताले २१ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको इमास फाइभको टर्निङ रेडियस ४.९५ मिटर मात्रै छ । जसको कारण सहरी क्षेत्रमा चलाउन सहज हुनेछ । रियर ह्वील ड्राइभमा भएको कारण यसको तान्ने क्षमता राम्रो छ ।


Back_to_top