काठमाडौं । हुन्डाई मोटर इन्डियाले पछिल्लो एक महिनामा साढे ५१ हजार युनिट गाडी बिक्री गरेको छ ।
बुधबार सार्वजनिक तथ्यांक अनुसार कम्पनीले सन् २०२६ को जुन महिनामा कुल ५१ हजार ३३५ युनिट सवारी बिक्री गरेको हो । कम्पनीको बिक्री गत वर्ष सोही महिनाको तुलनामा १५.७४ प्रतिशत अर्थात् ९ हजार ५८९ युनिटले घटेको हो । सन् २०२५ जुनमा हुन्डाईले ६० हजार ९२४ युनिट गाडी बिक्री गरेको थियो ।
सन् २०२६ जुनमा कम्पनीको घरेलु बिक्री र निर्यात दुवैमा गिरावट आएको छ । घरेलु बिक्री ९.९७ प्रतितशले घटेर ३९ हजार ६३५ युनिटमा सीमित भएको छ । कम्पनीले गत वर्ष जुनमा ४४ हजार २४ युनिट गाडी बिक्री गरेको थियो ।
त्यस्तै, जुनमा कम्पनीको निर्यात ३०.७७ प्रतिशतले घटेको छ । गत वर्ष जुनमा १६ हजार ९०० युनिट गाडी निर्यात गरेको कम्पनीले यो वर्ष ११ हजार ७०० युनिटमा सीमित भएको छ ।
आफ्नो एक प्रमुख आपूर्तिकर्ता (सप्लायर)को उत्पादन केन्द्रमा आगलागी हुँदा गाडी सामान आपूर्ति केही समय अवरुद्ध हुँदा उत्पादन परिमाणमा गिरावट आएको हुन्डाईले जनाएको छ । उक्त आगलागीका कारण जुन महिना कम्पनीले करिब १३ हजार ९०० युनिट गाडी उत्पादनमा नोक्सानी बेहोर्नुपरेको थियो ।
उत्पादनमा परेको संकटलाई कम गर्न हुन्डाईले वैकल्पिक स्थानहरूबाट अटोमोबाइलका पार्टपुर्जाहरू आयात गरी आफ्ना प्लाण्टहरूमा उत्पादन प्रक्रिया सुचारु राख्ने प्रयास गरेको थियो। गत जुन २२ देखि सबै प्लाण्टहरूबाट पूर्ण रूपमा उत्पादन सुरू भइसकेको कम्पनीले जनाएको छ ।
हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


