बीवाइडीले बदल्यो एटो वान, अब डल्फिनकै साइजमा आउने

काठमाडौं । बीवाइडीको चर्चित ह्याचव्याक कार एटो वान पहिलोभन्दा ठूलो भएर आउने भएको छ । कम्पनीले आफ्नो सफल इन्ट्री मोडलमा ब्यापक सुधार गर्दै बजारमा ल्याउने तयारी गरेको हो ।

चीनमा सिगल नामबाट बिक्री हुँदै आएको यो ह्याचव्याक कारमा भएको परिमार्जन बारे कम्पनीले उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा बिबरण दर्ता गराएसँगै नयाँ अपडेट भएको कारको बारे जानकारी बाहिर आएको हो ।

बीवाइडीले बजार अनुसार नाम राखेर बिक्री गर्दै आएको ह्याचव्याक कारको नाम चीनमा सिगल छ । युरोपमा डल्फिन सर्फ र दक्षिण अमेरिकी देशमा डल्फिन मिनी नामबाट बिक्री हुन्छ । नेपाल लगाएका धेरै राइट ह्याण्ड ड्राइभ बजारमा भने यसको नाम एटो वान राखिएको छ ।

अहिले नेपाली बजारमा उपलब्ध एटो वानको लम्बाइ ३.९ मिटर छ । अब आउन लागेको अपडेट भएको मोडल ४.२ मिटर लामो हुनेछ । यसको मतलव बीवाइडी डल्फिनको साइजमा अब एटो वान आउने छ ।

कम्पनीले नयाँ एटो वानको चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम दिएको छ । यसमा २६५० एमएम लामो ह्वीलबेस दिन लागेको हो ।

कम्पनीले यसमा मोटर पावर पनि वृद्धि गरेको छ । अब आउने एटो वानमा ९५ किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिएको छ । नयाँ एटो वानको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा हुनेछ ।

कम्पनीले ब्याट्री साइजमा पनि परिमार्जन गर्न भएको छ । तर, नयाँ ब्याट्रीको साइजको बिषयमा भने कुनै जानकारी बाहिर ल्याइएको छैन ।

डिजाइनका हिसाबले पनि नयाँ एटो वानमा ठूलो परिवर्तन पाउन सकिन्छ । १६ इन्चको ह्वील प्रयोग भएको कारमा नयाँ साइड स्कर्ट, फेन्डर ट्रिम दिइएको छ ।

प्रविधिको हिसाबले पनि गाडी थप स्मार्ट भएर आउने पक्का छ । कम्पनीले यसमा हाइ माउन्ट ब्रेक लाइटमा क्यामेरा जडान गरेको छ । सम्भवत लाइडार सहितको एडास फिचर यसमा उपलब्ध हुनेछ ।


Back_to_top