काठमाडौं । एथर इनर्जीले आफ्नो नयाँ ईएल प्लेटफर्ममा आधारित पहिलो इलेक्ट्रीक स्कुटर अर्को महिना सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आगामी अगस्ट २९ मा भारतको बेंगलुरुमा आयोजना हुने कम्युनिटी डेमा आफ्नो सबैभन्दा किफायती मोडल लन्च गर्ने भएको हो । ‘अ न्यू डाउन अफ म्याजिक’ नारासहित आयोजना हुने कम्युनिटी डेमा एथरले अन्य धेरै प्रविधिहरू पनि देखाउने बताइएको छ ।
ईएल प्लेटफर्म एथरको ४५० सिरिज सार्वजनिक भएपछि विकास गरिएको पहिलो पूर्णतः नयाँ भेहिकल आर्किटेक्चर हो । कम्पनीले यसलाई अझ बढी स्केलेबल, उत्पादनमैत्री र बहुउपयोगी बनाउने उद्देश्यले विकास गरेको जनाएको छ । यही प्लेटफर्ममा आधारित विभिन्न नयाँ इलेक्ट्रिक स्कुटरहरू आगामी दिनमा बजारमा ल्याइने अपेक्षा गरिएको छ ।
एथरले ईएल प्लेटफर्ममा बनेको पहिलो स्कुटर हाल बिक्री भइरहेका मोडलभन्दा सस्तोमा ल्याउने छ । जसको मूल्य भारतीय बजारमा १ लाखदेखि १ लाख २५ हजार रुपैयाँ बीच हुने अनुमान गरिएको छ । यसमार्फत एथरले उच्च बिक्री हुने मास मार्केट सेग्मेन्टमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति बनाएको हो ।
हालै सार्वजनिक सडकमा परीक्षणका क्रममा देखिएको नयाँ स्कुटरको डिजाइन सन् २०२५ को कम्युनिटी डे कार्यक्रममा प्रदर्शन गरिएको ईएल ०१ कन्सेप्टसँग धेरै हदसम्म मिल्ने अपेक्षा गरिएको छ । यसअघि कम्पनीले दर्ता गराएको डिजाइन पेटेन्टले पनि यही संकेत देखाएको छ ।
स्पाइ तस्बिहरू अनुसार स्कुटरमा ह्याण्डलबार माउन्टेड हेडलाइट, अगाडिको एप्रोनमा जडान गरिएको फराकिलो एलईडी डीआरएल, आकर्षक र आधुनिक डिजाइन प्रयोग गरिएको छ ।
नयाँ प्लेटफर्ममा आधारित यो स्कुटरले एथरलाई प्रिमियम सेग्मेन्टबाट बाहिरिएर ठूलो ग्राहक वर्गलाई लक्षित गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
हाल एथरकास्कुटर नेपाली बजारमा पनि बिक्री भइरहेका छन् । भारतमा लन्च हुने बित्तिकै उक्त नयाँ सस्तो स्कुटर नेपालमा पनि आउने छ ।


