टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाद्वारा विद्यालय हस्तान्तरण

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्तव विङ (सिप्रदीयन सहायता संस्था) को सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपाल्चोकक कूपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुनर्निर्माण गरिएको उक्त विद्यालयको उद्घाटन गरेका हुन् । ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’ को एक हिस्सास्वरूप टाटा ट्रस्टले सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विद्यालयहरूको पुनर्निर्माण गरिसकेको छ ।

भूकम्पप्रतिरोधी आधुनिक संरचना र अपांगमैत्री सुविधाहरू भएको सो विद्यालयको पुनर्निर्माण गरिएको छ । सिन्धुपालचोकमा पुनर्निर्माण गरिएका अन्य ६ वटा विद्यालयहरूमध्ये कूपकन्या माध्यमिक विद्यालय सबैभन्दा ठूलो हो ।

हस्तातन्तरण समारोहमा सर दोराब्जी टाटा ट्रस्टका ट्रस्टी भीआर मेहता, सिप्रदीयन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबरा, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, अग्निप्रसाद सापकोटा तथा अरुण नेपालको समेत उपस्थिति रहेको थियो ।

हस्तातन्तरण समारोहमा भीआर मेहताले नेपालमा २०७२ मा आएको विनाशकारी भूकम्प पछिको पुनर्निर्माण कार्यमा जुट्ने र प्रभावितहरूलाई सहयोग प्रदान गर्न अवसर टाटा ट्रस्ट्सलाई मिलेका बताए । त्यस्तै कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको शताब्दीऔँ पुरानो दौत्य सम्बन्ध रहेको र नेपालको आर्थिक अभियानमा भारतको सदा सहयोग र तत्परता रहने उनले उल्लेख गरेको छ । विद्यालयप्रतिको निरन्तर र अमूल्य सहयोगका लागि टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाप्रति उनले कृतज्ञता व्यक्त गरे ।

पुनर्निर्माण गरिएको विद्यालयमा १४ वटा कक्षाकोठाहरूको साथै सुविधासम्पन्न पुस्तकालय, कम्युटर ल्याब र कर्मचारी कार्यालयहरू छन् । १८ महिनामा निर्माण सम्पन्न गरिएको सो विद्यालय भवन सुविधासम्पन्न, भूकम्पप्रतिरोधी र अपांगमैत्री रहेको छ ।

यस विद्यालयमा लैंगिक मैत्री तथा अपांगमैत्री शौचालयहरू, फर्निचर तथा अन्य उपकरणहरू छन् तथा विद्यार्थीहरू र शिक्षकहरूका लागि शिक्षा, खानेपानी तथा सरसफाई (ईवाश) सचेतनामूलक गतिविधिहरू संचालन गरिन्छ ।


Back_to_top