चीनमा फक्सवागनको अटोनोमस ड्राइभिङ दौड, २०२७ देखि लेभल-३ कार

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागनले चीनमा स्वचालित ड्राइभिङ प्रविधि विकासलाई तीव्र बनाएको छ । कम्पनीले ‘लेभल-३’ अटोनोमस ड्राइभिङ सिस्टम भएको गाडीको विकास तीव्र गतिमा सुरू गरेको हो ।

फक्सवागेनले सन् २०२७ को दोस्रो अर्धवार्षिकदेखि लेभल-३ युक्त कारहरू बजारमा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि कम्पनीले चिनियाँ इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि कम्पनी होराइजन रोबोटिक्ससँगको सहकार्यलाई थप गहिरो बनाउने भएको हो । दुवै कम्पनीको संयुक्त लगानीमा स्थापना भएको ‘कारिजन’ नामक कम्पनी मार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई०मा आधारित स्वचालित ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिइनेछ ।

होराइजन रोबोटिक्सको एआई फाउन्डेसन मोडललाई कारिजनले ‘ह्वाइट-बक्स लाइसेन्सिङ’ मोडलअन्तर्गत प्रयोग गर्नेछ । यस प्रविधिको सहयोगमा फक्सवागन ग्रुप चाइनाका लागि एकीकृत एआई ड्राइभिङ सोलुसन विकास गरिने कम्पनीले जनाएको छ ।

होराइजनको एआई फाउण्डेसन मोडललाई कारिजनले विकास गरिरहेको ‘सी ७ एच’ सिस्टम-अन-चिप (एसओसी) र जीएआइए वल्र्ड-मोडल डेटा प्लेटफर्मसँग एकीकृत गर्नेछ । यसले फक्सवागनको लागि लेभल ३ र ४ स्तरका स्वचालित ड्राइभिङ क्षमता विकास तथा प्रयोग गर्न सहयोग गर्नेछ ।

फक्सवागन ग्रुपका प्रमुख कार्यकारी अधिकृत ओलिभर ब्लुमले चीन सफ्टवेयर, एआई र स्वचालित ड्राइभिङको क्षेत्रमा कम्पनीका लागि महत्वपूर्ण प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा विकास भइरहेको बताए । चिनियाँ कम्पनीहरूको एआई क्षमतालाई फक्सवागनको इन्जिनियरिङ अनुभवसँग जोडेर चिनियाँ ग्राहकको आवश्यकता पूरा गर्न र भविष्यमा अन्य बजारमा समेत व्यवसाय विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

चीनमा फक्सवागनको रणनीति अब केवल विद्युतीय सवारी उत्पादनमा सीमित नरही एआई, सफ्टवेयर र स्वचालित ड्राइभिङ प्रविधिमा स्थानीय चिनियाँ कम्पनीसँग सहकार्य गर्दै नयाँ पुस्ताको स्मार्ट मोबिलिटी बजारमा प्रतिस्पर्धा गर्ने दिशातर्फ अघि बढेको देखाएको छ ।


Back_to_top