काठमाडौं । लक्जरी ब्राण्ड रेन्ज रोभरले आफ्नो विल्कुलै नयाँ इलेक्ट्रीक मोडल ‘रेन्ज रोभर जीटी’को झलक सार्वजनिक गरेको छ ।
कम्पनीले सन् २०१७ मा रेन्ज रोभर भेलार सार्वजनिक गरे यता पहिलोपटक पटक नयाँ नाम र नयँँ डिजाइनका साथ रेन्ज रोभर जीटी ल्याउन लागेको हो ।
यो नयाँ मोडल रेन्ज रोभर, रेन्ज रोभर स्पोर्ट, रेन्ज रोभर भेलार र रेन्ज रोभर इभोकसँगै कम्पनीको विश्वव्यापी लाइनअपमा पाँचौँ सदस्यका रूपमा भित्रिनेछ।
रेन्ज रोभर जीटी परम्परागत रूपमा आउने ठूला र अग्ला एसयूभीहरू भन्दा फरक डिजाइनको छ । यो होचो र छरितो ‘ग्राण्ड टुरर’को रूपमा विकास गरिएको छ।
कम्पनीले यसलाई लामो दूरीको यात्रामा अत्यधिक आराम, सहज कार्यसम्पादन र सबै प्रकारका कच्ची तथा पक्की सडकहरूमा सजिलै चल्न सक्ने क्षमतालाई ध्यानमा राखेर डिजाइन गरेको छ ।
परीक्षण प्रोटोटाइपहरूले रेन्ज रोभर जीटी कुपे शैलीबाट प्रेरित लामो र होचो बनावट देखाउँछन् । सडक केन्द्रित रूप भए तापनि रेन्ज रोभरले जीटीमा आफ्ना अन्य मोडलहरू जस्तै सबै प्रकारका भूभागमा चल्न सक्ने क्षमता कायम रहने बताएको छ।
यो नयाँ मोडल जेएलआरको नयाँ इलेक्ट्रीक मोडुलर आर्किटेक्चरमा आधारित भएर बन्ने पहिलो अल इलेक्ट्रीक रेन्ज रोभर हुनेछ। यसको उत्पादन बेलायतको हेलवुडस्थित प्लाण्टमा हुनेछ । जहाँ रेन्ज रोभर आइस र हाइब्रिड मोडलहरू पनि उत्पादन हुनेछन् ।
रेन्ज रोभर जीटीको इन्टेरियर मिनिमलिस्ट छ । यसले ब्राण्डको सादा र आधुनिक डिजाइन शैलीलाई पछ्याउँछ । जसमा धेरैजसो प्रविधिलाई स्पष्ट रूपमा देखाउनुको सट्टा ड्यासबोर्डभित्रै मिलाएर राखिएको छ।
परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टरको सट्टा छुट्टै ड्राइभर डिस्प्ले र नयाँ सिंगल स्क्रीन सेटअप दिइएको छ। ड्यासबोर्डको चौडाइभरी लुकाइएको एयर भेन्ट छ भने स्पिकरहरूलाई एकीकृत गर्न र लुकाउन बुनिएको कपडाको प्रयोग गरिएको छ।
जीटीमा यात्रुको आराम मुख्य प्राथमिकतामा राखिएको छ । जसमा रेन्ज रोभरले दोस्रो पङ्क्तिमा उत्कृष्ट लेगरुम हुने दाबी गरेको छ। जीटीको लामो दूरीको यात्रा गर्ने उद्देश्यलाई ध्यानमा राख्दै क्याबिनलाई आँखा र कानलाई बाधा नपुग्ने गरी डिजाइन गरिएको छ।
कम्पनीका अनुसार जीटी यो सुरूमा बजारमा प्योर इलेक्ट्रीक भेरियन्टमा आउनेछ । भविष्यमा यसको हाइब्रिड संस्करण पनि उपलब्ध गराइनेछ । यसको ब्याट्री क्षमता, रेन्ज, चार्जिङ र पर्फर्मेन्स सम्बन्धी विवरणहरू यसै वर्षको अन्त्यमा घोषणा गरिने कम्पनीले जनाएको छ।


