सस्तो मूल्यको नयाँ इलेक्ट्रीक स्कुटर ल्याउँदै यामाहा

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी यामाहाले नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले आफ्नो ईभी लाइनअप विस्तार गर्ने दीर्घकालीन योजना अन्तर्गत जापानमा नयाँ इलेक्ट्रीक स्कुटरको डिजाइन पेटेन्ट दर्ता गरेको हो ।

कम्पनीले उक्त स्कुटर बारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर, मिडिया रिपोर्ट अनुसार यामाहाको नयाँ ई-स्कुटर विश्व बजारलाई लक्षित गरेर विकास गरिएको हो ।

स्कुटर बजारमा सार्वजनिक भएपछि यामाहाको ईभी सेग्मेन्टमा मुख्य भोल्युम मोडल बन्न सक्ने अनुमान गरिएको छ । मास मार्केट लक्षित भएकाले यसको मूल्य पनि तुलनात्मक रुपमा सस्तो हुने अपेक्षा छ ।

पेटेन्ट डिजाइन अनुसार यामाहाको नयाँ इलेक्ट्रीक स्कुटरले आकर्षक स्टाइल र दैनिक प्रयोगको उपयोगिताबीच राम्रो सन्तुलन कायम गरेको देखिन्छ । स्कुटरमा तीखा र एंगुलर लाइनहरू प्रयोग गरिएको छ, जसले यसलाई आधुनिक लुक प्रदान गर्छ ।

यसको फ्रन्ट डिजाइनमा विशेष ग्रुभसहितको एंगुुलर एप्रोन, डुअल हेडलाइट र भी–आकारको एलईडी डीआरएल देख्न सकिन्छ । हेडलाइट र डीआरएललाई फ्रन्ट एप्रोनको तल्लो भागमा राखिएको छ । साथै, ट्रान्सलुसन्ट टप काउल, एंगुलर रियरभ्यु मिरर र साइडमा रेस्ड डिजाइनका कम्प्याक्ट टर्न इन्डिकेटर दिइएको छ ।

स्कुटरमा १२ इन्चको एलोय ह्वील, अगाडि र पछाडि दुवै टायरमा डिस्क ब्रेक उपलब्ध हुने सम्भावना छ । लामो सिंगल–पिस सिट, फ्ल्याट फ्लोरबोर्ड र इन्टिग्रेटेड ग्राब रेलले यसलाई दैनिक कम्युटका लागि सहज बनाउनेछ ।

यामाहाको नयाँ इलेक्ट्रीक स्कुटरमा अगाडिको भागमा स्टोरेज स्पेस र यूएसबी चार्जिङ पोर्ट उपलब्ध हुने सम्भावना छ । यसमा की–लेस स्टार्ट र विभिन्न स्मार्ट कनेक्टिभिटी फिचर पनि समावेश हुन सक्ने अनुमान गरिएको छ । डिजाइन पेटेन्टमा आयताकार डिजिटल डिस्प्ले देखिएको छ ।

यो स्कुटरमा सेन्ट्रली माउन्ट गरिएको इलेक्ट्रीक मोटर प्रयोग भएको देखिन्छ । यस्तो सेटअप यामाहाको ईसी–६ इलेक्ट्रिक स्कुटरसँग मिल्दोजुल्दो छ । मोटरबाट पावर पछाडिको पाङ्ग्रामा बेल्ट ड्राइभ सिस्टममार्फत पठाइने सम्भावना छ ।

यसको तुलनामा यामाहा एरोक्स–ईमा स्विङआर्म माउन्टेड मोटर प्रयोग गरिएको छ । नयाँ स्कुटरमा सिटमुनि राखिएको रिमुभेबल ब्याट्री प्याक देखिन्छ, जुन एरोक्स ईमा प्रयोग गरिएको प्रविधिसँग मिल्दोजुल्दो छ । ईसी-६ मा भने फिक्स्ड ब्याट्री प्याक प्रयोग गरिएको छ ।

यामाहाले मोटर, ब्याट्री क्षमता र रेन्जको आधिकारिक जानकारी नदिए पनि नयाँ इलेक्ट्रीक स्कुटरको प्रदर्शन हाल बजारमा रहेका १२५ सीसी आईसी इन्जिन स्कुटर सरह हुने रिपोर्टमा उल्लेख गरिएको छ ।


Back_to_top