रोयल इनफिल्डको बिक्रीमा नयाँ रेकर्ड, यी मोडल रोजाइमा

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकल बिक्रीमा नयाँ रेकर्ड बनेको छ । रोयल इनफिल्ड इन्डियाले ३ महिनामा ३ लाख युनिट बढी मोटरसाइकल बेच्दै नयाँ कीर्तिमान बनाएको हो ।

रोयल इन्फिल्डले आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमास (अप्रिल-जुन) मा कुल ३ लाख १ हजार १७४ मोटरसाइकल बिक्री गरेको हो । यो हालसम्म कुनै पनि त्रैमासमा बिक्री भएको अहिलेसम्मकै धेरै हो ।

रोयल इन्फिल्डले यसअघि सन् २०२५ को अक्टोबर-डिसेम्बरमा पहिलो पटक ३ लाख युनिटको आँकडा पार गरेको थियो । रोयल इन्फिल्डको सबैभन्दा ठूलो सफलता ३५० सीसी सेग्मेन्टमा देखिएको छ । कम्पनीका चार लोकप्रिय मोडल क्लासिक ३५०, बुलेट ३५०, हन्टर ३५० र मेटिअर ३५० ले मात्रै पहिलो त्रैमासमा २ लाख ८० हजार १३६ युनिट बिक्री भएका छन् । जसअनुसार ३५० सीसी सेग्मेन्टको कुल बिक्रीमध्ये करिब ८५ प्रतिशत हिस्सा रहेको देखिन्छ ।

त्यस्तै, ३५० देखि ५०० सीसी सेग्मेन्टमा रोयल इन्फिल्डका गुरिल्ला ४५० र हिमालयन ४५० मोडल संयुक्त रूपमा ९ हजार ८८३ युनिट बिक्री भएका छन् । यो संख्या गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । यससँगै कम्पनीले यस सेग्मेन्टमा ५९ प्रतिशत बजार हिस्सा कायम गरेको छ ।

साथै, रोयल इनफिल्डको ५०० देखि ८०० सीसी सेग्मेन्टमा पनि एकछत्र राज गरेको छ । ५०० देखि ८०० सीसी सेग्मेन्टमा रोयल इन्फिल्डले ११ हजार १५५ युनिट मोटरसाइकल बिक्री गरेको छ । यद्यपि, यो बिक्री गत वर्षको तुलनामा ९ प्रतिशतले कम हो । तर कम्पनीले यस सेग्मेन्टमा ९७ प्रतिशतको प्रभावशाली बजार हिस्सा कायम राख्न सफल भएको छ ।

यदि पहिलो त्रैमासको यही बिक्री गति आगामी महिनाहरूमा पनि कायम रह्यो भने, रोयल इन्फिल्डले आर्थिक वर्ष २०२६/२७ मा पहिलो पटक घरेलु बिक्रीमा १२ लाख युनिट पार गर्ने अनुमान गरिएको छ ।

मिड–साइज मोटरसाइकल बजारमा भारतसँगै नेपालमा पनि रोयल इन्फिल्डको लोकप्रियता लगातार बढिरहेको देखिन्छ । नेपाली बजारमा पनि विशेषगरी ३५० सीसी प्लेटफर्ममा कम्पनीको बलियो पकड छ भने अन्य मोडलहरूको पनि माग बढ्ने क्रममा छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा बिक्री गर्दै आइरहेको सम्पूर्ण मोडल नेपालमै एसेम्बल हुन्छन् ।


Back_to_top