काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इण्डियाले प्रिमियम सेग्मेन्टमा एकैपटक १० नयाँ दुईपाँग्रे उत्पादन सार्वजनिक गरेको छ ।
होण्डाले आफ्नो पोर्टफोलियोलाई व्यापक रूपमा विस्तार गर्ने योजनासहित भारतमै निर्माण भएका प्रिमियम सेग्मेन्टका १० नयाँ मोडल सार्वजनिक गरेको हो ।
होण्डाले एकैपटक १० नयाँ मोडल सार्वजनिक गरे पनि यिनीहरूको बिक्री सुरू हुने मिति भने फरक फरक हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेका १० मोडलमध्ये ७ पूर्ण रूपमा नयाँ उत्पादन हुन् भने तीनवटा सीबी ३५० सिरिजका मोडललाई नयाँ रङ विकल्पसहित अपडेट गरिएको हो ।
होण्डाको नयाँ लाइनअपमा एड्भेन्चर स्कुटर, रेट्रो रोडस्टार मोटरसाइकल, क्रुजर मोटरसाइकल, डुअल-पर्पस डिजाइन र इलेक्ट्रीक स्कुटर समावेश रहेका छन् ।
एड्भेन्चर स्कुटर सेग्मेन्टमा होण्डाले नयाँ एडीभी १६० सीसी र इलेक्ट्रीकमा क्यूसी ३, रोडस्टारमा सीबी सेग्मेन्ट, क्रुजरमा रेबेल र डुअल-पर्पस डिजाइनको एक्सआर ३०० मोडल ल्याएको हो ।
होण्डाले सीबी सेग्मेन्टमा ५०० सीसी क्षमताको नयाँ रेट्रो मोटरसाइकल ल्याएको छ । जुन अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ट्विन-सिलिण्डर सीबी ५०० संस्करणभन्दा फरक मोडल हो । भारतीय संस्करणमा ५०१ सीसीको सिंगल सिलिन्डर एयर-कुल्ड इन्जिनसँग आयल कुलर सिस्टम प्रयोग गरिएको छ ।
सीबी ७५० बाट प्रेरित रेट्रो डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा एलईडी लाइटिङ, एनालग-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल उपलब्ध छ । कम्पनीले यसलाई अलोय, स्पोक ट्युबलेस र ग्राफिक्ससहितको स्पोक ट्युबलेस गरी तीन भेरियन्टमा उपलब्ध गराउने जनाएको छ ।
होण्डाले भारतीय बजारमा क्रुजर डिजाइनमा आधारित रेबल मोडललाई पनि नयाँ ३०० सीसी इन्जिनमा सार्वजनिक गरेको छ । यसका अलावा केही समय अघि भारतमा सीमित संख्यामा मात्रै बिक्री भएको रेबेल ५०० पनि पुनः बजारमा ल्याउने तयारी गरिरहेको छ ।
२८६ सीसी वाटर-कुल्ड इन्जिनमा रहेको रेबेल ३०० क्रुजर मोटरसाइकल स्ट्यान्डर्ड र ई-क्लच गरी दुई संस्करणमा उपलब्ध हुनेछ ।
ई-क्लच प्रविधिले क्लच लिभर सञ्चालन नगरी गियर परिवर्तन तथा स्टार्ट-स्टपलाई सहज बनाउने कम्पनीको दाबी छ । यसमा टीएफटी डिस्प्ले, रोडसिंक, एलईडी प्रोजेक्टर हेडल्याम्प, टर्न-बाइ-टर्न नेभिगेसन र डुअल च्यानल एबीएस उपलब्ध छ ।

रेबल ५०० मा ४७१ सीसीको इनलाइन ट्विन-सिलिण्डर वाटर-कुल्ड इन्जिन प्रयोग गरिएको छ । स्ट्यान्डर्ड र ई-क्लच दुवै संस्करणमा उपलब्ध हुने यस मोटरसाइकलमा टीएफटी डिस्प्ले, रोडसिङ्क, एचएसटीसी तथा डुअल च्यानल एबीएस जस्ता फिचर समावेश गरिएको छ ।
हाल १५० र १९० ससीमिा सडकमा देखिरहने एक्सआर डुअल पर्पस मोटरसाइकल अब ३०० सीसी इन्जिनमा आउने भएको छ । होण्डाको अन्य एड्भेन्चर क्याटागोरी जस्तै एक्सआर ३०० पनि एल र र्याली दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
अफरोड र दैनिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको एक्सआर ३०० मा २९३.५ सीसी सिंगल सिलिन्डर, एयर-कुल्ड इन्जिन उपलब्ध छ । यसमा ग्यास-चार्ज्ड प्रो-लिङ्क रियर सस्पेन्सन, स्विचेबल डुअल च्यानल एबीएस तथा एचएसटीसी जस्ता फिचर दिइएको छ ।
होण्डाले सार्वजनिक गरेको एडीभी १६० भारतको पहिलो ई-८५ फ्लेक्स-फ्युल स्कुटर हो । १५६.९ सीसीको वाटर-कुल्ड इन्जिन रहेको यस स्कुटरमा पेट्रोलसँगै ८५ प्रतिशत इथानोल मिश्रित इन्धन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
होण्डाको नयाँ इलेक्ट्रीक उत्पादन क्यूसी ३ मा ३.० किलोवाट-आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले आइडीसी मापदण्ड अनुसार एकपटकको चार्जमा १४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।
होण्डाले आफ्नो लोकप्रिय सीबी३५०, सीबी ३५० सी र सीबी ३५० आरएसलाई भने नयाँ रङ विकल्पमा अपडेट गरेको हो । यी तीनवटै मोटरसाइकलमा कलर बाहेक अन्य परिवर्तन गरिएको छैन । तीनै मोडललाई पुरानै समान ३४८.६ सीसी एयर-कुल्ड इन्जिन प्लेटफर्ममा यथावत राखिएको छ । तीनवटै मोडलमा एलईडी लाइटिङ, रोडसिङ्क, एचएसटीसी तथा डुअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् ।


