काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो फ्लाइओभर (भायडक्ट सडक) बनाउन ठेक्का आह्वान गरिएको छ ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले टिकौलीमा २ किमी फ्लाइओभरसहित ७० किमी हेटौंडा-नारायणगढ सडक स्तरोन्नतिका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।
हाल दुई लेनमा रहेको यो सडक एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग र नेपाल सरकारको लगानीमा चार लेनमा स्तरोन्नति गर्न लागिएको हो । यसको कुल अनुमानित लागत करिब ३५ अर्ब रुपैयाँ रहेको छ । सोमध्ये १८ प्रतिशत नेपाल सरकार र ८२ प्रतिशत एडीबीले ऋण उपलब्ध गराउने छ ।
पथलैया-हेटौंडा-नारायणगढ सडक आयोजनाका इन्जिनीयर नारायण पन्थीले पहिलो चरणमा हेटौँडाको राप्तीपुलदेखि चितवनको गोद्राङसम्म ७० किमी सडक स्तरोन्नतिको टेन्डर आह्वान गरिएको जानकारी दिए ।
उनका अनुसार ७० किमी सडकलाई ३ प्याकेजमा विभाजन गरी टेन्डर आह्वान गरिएको छ । पहिलो प्याकेज राप्तीपुल-लोथरपुल ३९.९२ किमी, दोस्रो प्याकेज लोथरपुल- टिकौली २६.१८ किमी र तेस्रो प्याकेज टिकौली-गोन्द्राङ ३.८२ किमी रहेको छ । यी मध्ये टिकौली फ्लाइओभर तेस्रो प्याकेजमा पर्ने उनले बताए । इच्छुक कम्पनीले असोज २६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
टिकौली क्षेत्रमा सवारी साधनको ठक्करबाट वर्षेनी कयौं वन्यजन्तु मर्ने गरेकाले सुरक्षाका लागि फ्लाइओभर निर्माण गर्न लागिएको उनले बताए । यो संरक्षित क्षेत्रमा बन्ने नेपालकै पहिलो फ्लाइओभर समेत हो ।
उनका अनुसार टिकौली जंगलमा समानान्तार रूपमा १.९९२ किमी लामो (एप्रोच सडक बाहेक) दुई वटा फ्लाइओभर निर्माण हुनेछन् । साथै, फ्लाइओभरको दुवैतर्फ ६००/६०० मिटर लामो एप्रोच सडक निर्माण गरिने छ । फ्लाइओभर एउटा पूर्वतर्फ जाने र अर्को पश्चिमतर्फ आउने हुनेछ ।
एकतर्फी फ्लाइओभरको चौडाइ ११ मिटर रहने छ । जसमा ७.५ मिटरमा सवारी साधन गुड्ने र २.७५ मिटर फराकिलो फुटपाथ रहने छ । बाँकी भागमा फ्लाइओभरका संरचना रहने छन् । फ्लाओभर माथिबाट सवारीसाधन गुड्ने र तलबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी निर्माण गरिने उनले बताए । वन्यजन्तुलाई सहजै आवतजावतका लागि ७/७.५ मिटर भर्टिकल क्लियरेन्स (उचाइ) राखिएको उनले बताए ।
‘टिकौली जंगल क्षेत्रमा वन्यजन्तुलाई निकै जोखिम छ । त्यसलाई मध्येनजर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २ किमी लामो फ्लाइओभर निर्माण गर्न लागिएको हो । फ्लाइओभर माथिबाट सवारीसाधन र तलबाट वन्यजन्तु आउजाउ गर्ने छन्,’ उनले मेरोअटोसँग भने ।
२ किमी लामो फ्लाइओभरमा कुल ६७ वटा पिलर रहने छन् । यसको अनुमानित लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ ।
हाल दुई लेनमा रहेको रहेको हेटौँडा-नारायणगढ सडक अब कम्तीमा ४ लेन फराकिलो बनाउन लागिएको हो । यो सडक कुल ५० मिटरसम्म फराकिलो हुनेछ । सहरी क्षेत्रको कुल १९.३०५ किमी सडक ६ लेनको बनाइने छ । साथै, मुख्य सडकको दुवैतर्फ सर्भिस लने समेत निर्माण हुन्छे ।
अर्धसहरी क्षेत्रको १६.७ किमी ६ लेन (३७.४ मिटर) र ग्रामीण तथा वन क्षेत्रमा ३३.९१५ किमी २४ मिटर फराकिलो हुनेछ । हेटौंडा-गोद्राङ खण्डमा फ्लाइओभर बाहेक विभिन्न प्रकृतिका २८ वटा विभिन्न संरचना निर्माण गरिने छ । जसमा १० वटा पुल, १० वटा बक्स कल्भर्ट, ५ वटा ओभर/अण्डरपास र ४ वटा वन्यजन्तु क्रसिङ निर्माण गरिने छ । साथै, हाल रहेको पुलहरू समेत स्तरोन्नति गरिने छ ।
यो सडक ठेक्का लागेको ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणपछि ५ वर्षसम्म सम्बन्धित कम्पनीले नै मर्मत सम्भार गर्नुपर्नेछ ।


