काठमाडौं । टाटाको सफल माइक्रो एसयूभी पन्च ईभीले भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । कम्पनीले गराएको पछिल्लो परीक्षणमा पन्च ईभीको फेसलिफ्ट मोडलले क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको हो ।
पन्च ईभीले वयस्क यात्रु र बाल यात्रु दुबैको सुरक्षामा अब्बल सावित हुँदै फाइभ स्टार रेटिङ पाउन सफल भएको हो । भारत एनक्यापले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पन्च ईभीले वयस्क यात्रु सुरक्षातर्फ अधिकतम ३२ अंकमध्ये ३१.०९ अंक प्राप्त गरेको छ ।
यसले फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा १६ मध्ये १५.२८ अंक र साइड मुभेबल डिफर्मेबल ब्यारियर परीक्षणमा १६ मध्ये १५.८० अंक हासिल गरेको हो ।
प्रतिवेदनमा साइड इम्प्याक्ट परीक्षणका क्रममा शरीरका अधिकांश महत्वपूर्ण भागमा ‘राम्रो’ स्तरको सुरक्षा उपलब्ध भएको उल्लेख छ । फ्रन्टल इम्प्याक्ट परीक्षणमा पनि अधिकांश महत्वपूर्ण अंगको सुरक्षा ‘राम्रो’ वा ‘पर्याप्त’ स्तरको रहेको भारत एनक्यापले रिपोर्टमा लेखेको छ ।
पन्च ईभीले साइड पोल इम्प्याक्ट परीक्षण समेत सफलतापूर्वक पार गरेको छ ।
बाल यात्रु सुरक्षातर्फ पन्चले अधिकतम ४९ अंकमध्ये ४५ अंक प्राप्त गर्दै ५ स्टार रेटिङ हासिल गरेको छ । यसले डाइनामिक परीक्षणमा उपलब्ध पूर्ण २४ अंक, चाइल्ड रिस्ट्रेन्ट सिस्टम स्थापनातर्फ उपलब्ध पूर्ण १२ अंक प्राप्त गरेको छ । साथै, सवारी मूल्याङ्कनतर्फ १३ मध्ये ९ अंक हासिल गरेको हो ।
भारत एनक्यापका अनुसार पन्च ईभीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, कर्टेन एयरब्याग, पैदलयात्री सुरक्षा प्रणाली तथा सिटबेल्ट रिमाइन्डर जस्ता सुरक्षा फिचर स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।
वयस्क यात्रु सुरक्षातर्फ प्राप्त ३१.०९ अंकका आधारमा पन्च ईभी भारत एनक्यापले हालसम्म परीक्षण गरेका भारतीय सवारीमध्ये सातौं उच्च स्कोर प्राप्त गर्ने मोडल बनेको हो । हालसम्म भारत एनक्यापले ३७ वटा सवारी परीक्षण गरिसकेको छ । ती मध्ये ३४ वटा मोडलले वयस्क यात्रु सुरक्षातर्फ ५ स्टार रेटिङ प्राप्त गरेका छन् ।
केही दिन भित्रै नेपाली बजारमा बिक्री सुरू गर्न लागिएको पन्च ईभी नेपालमा पनि सफल मोडल हो । पन्च ईभी फिचर, मूल्य र रेन्जको बेजोड कम्बिनेसन भएको माइक्रो एसयूभीमा पर्छ ।
नयाँ पन्च यसअघिको भन्दा फिचर थप भएर आउँदै छ । साथै, रेन्ज पनि पहिलोभन्दा बढी पाइन्छ । किन भने कम्पनीले दुवै भेरियन्टमा ५ किलोवाट आवर बढीको ब्याट्री दिएको छ । जसको साइज क्रमशः ३० र ४० किलोवाट आवर छ ।


