गाडी बेच्ने र छान्ने दुवैलाई सकस पूर्ण बन्दै ३० दिन

काठमाडौं । यही साता नेपाली बजारमा एक दर्जन बढी नयाँ कारहरू प्रवेश गर्ने तयारीमा छन् । अर्को हप्ताको मंगलबार (साउन २६) देखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोको लागि नयाँ मोडल धमाधम नेपाल प्रवेश गर्दैछन् ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को लागि एमजी मेजस्टर, टाटा पन्च फेसलिफ्ट, टाटा टिगोर फेसलिफ्ट, लीपमोटर बी-०३ एक्स, बीएआइसी बीजे-३० ई, चेरी क्यू-३, आइकार भी-२७, बुलिङ एक्सियन र विङ्गो जस्ता मोडल नेपाल आइसकेका छन् ।

त्यसैगरी नयाँ जेनेरेशन हुन्डाई भेन्यू, निसान टेकटन, बुलिङ डारियन र एयर मिनी पनि नेपाल प्रवेश गरिसकेका छन् । यसका अलावा छैटौं जेनेरेशन टोयोटा र्याभफोर पनि नेपाल आइसकेको छ । उसोत भर्खरै बजारमा आएका ओरा फाइभ र प्रोटोन इमास फाइभ पनि मोबिलिटी एक्स्पोमा नयाँ प्रोडक्टकै रूपमा रहने छन् ।

हुन्डाईको अयोनिक नाइन र फेसलिफ्ट किया सेल्टोस पनि नाइमामा रहने छन् । आयोनिक नाइनको आधिकारिक बिक्री नै यही अटो शोबाट सुरू हुनेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा यस बाहेक पनि केही थप नयाँ मोडल रहने छन् । जसमा आरफक्स टी-१ र महिन्द्रा एक्सईभी नाइन एस मुख्य मोडल हुन सक्छन् । जेटोर ब्राण्ड पनि नाइमा नै लन्च हुनेछ ।

त्यसको दुई साताभन्दा पनि कम समयमा नाडा अटो शो २०२६ आयोजना हुनेछ । यसमा पनि थुप्रै ब्राण्डले भाग लिनेछन् । नाडा अटो शोमा टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित एसयूभी सियराको ईभी भर्सन लन्च गर्नेछ ।

त्यसैगरी, चांगान ग्रुप अन्तर्गतको निभो क्यू-०५ एसयूभी पनि नाडाको मुख्य आकर्षण बन्ने देखिन्छ । नामीले अपग्रेड गरेर बक्स ईभी सार्वजनिक गर्नेछ । फरथिङको नयाँ एसयूभी पनि नाडा अटो शोमा नै आउने पक्का जस्तैछ । एम हिरो ब्राण्डले पनि नाइमाबाट डेब्यू गर्दैछ ।

अटो शो मध्ये चारपाङ्ग्रे सेग्मेन्टमा अहिलेसम्मकै सबैभन्दा धेरै मोडल यस वर्ष बजारमा आउँदै छन् । यसले बिक्रेता र खरिदकर्ता दुवैलाई सकस हुने देखिन्छ ।

किन हुन्छ दुवैलाई सकस ?

सबै चिनियाँ ब्राण्डका उत्पादन झट्ट हेर्दा आकर्षक छन् । मूल्य पनि राम्रै अफर पाइन्छ । आयातकर्ता कम्पनीहरू पनि अधिकांश पुराना र लिगेसी बोकेका घराना नै छन् ।

अर्कोतर्फ कुन कारको अन्तर्राष्ट्रिय बिक्री कस्तो छ भन्ने एकिन पनि छैन । कति उत्पादन चीनबाट सिधै नेपाल प्रवेश गर्दैछन् । कति उत्पादन विश्व बजारमा १ लाख युनिट बिक्री नपुगेका पनि छन् । यसले उपभोक्तालाई कन्फ्युज बनाउने छ ।

गाडी बिक्रेताहरू पनि रनभुल्लमा छन् । एकले अर्कोको उत्पादनभन्दा मेरो राम्रो छ भन्नु पर्ने अवस्था छ । तर, त्यसलाई प्रमाणित गर्न तथ्य छैन । चर्को प्रतिस्पर्धामा सहभागी हुनुपर्ने हुँदा मूल्य राख्नै मुस्किल ठाउँमा बिक्रेताहरू पुगेका छन् ।

सानो चुकले ब्राण्ड नै ठप्प हुने हो कि भन्ने चिन्ता पनि बिक्रेताहरूमा देखिन्छ । जे होस् चाडपर्व आउनु दुई महिना अगाडि नै हुन लागेको अटो शोमा उपभोक्ता र बिक्रेताको चिन्ता भने ठूलै देखिन्छ ।


Back_to_top