काठमाडौं । नेपाली बजारमा एकपछि अर्को भारतीय ब्राण्डका इलेक्ट्रीक स्कुटर आउने क्रम जारी छ । बजारमा बढ्दो मागलाई मध्येनजर गर्दै बिक्रेताहरूले नयाँ नयाँ इलेक्ट्रीक स्कुटर भित्र्याइरहेका हुन् ।
सोही क्रममा हालै नेपाली बजारमा दुई नयाँ इलेक्ट्रीक स्कुटर बिक्री सुरू भएको छ । जगदम्बा मोटर्सले फ्यामिली सेग्मेन्टमा आधारित अर्बिटर भी २ र सीजी मोटर्सले हिराेकाे पहिलो अन्तर्राष्ट्रिय मोडलका रूपमा भीडा भीएक्स २ स्कुटर बिक्री सुरू गरेका हुन् ।
भीडा हिरोको पहिलो इलेक्ट्रीक स्कुटरको रूपमा नेपाल आएको हो भने अर्बिटर टीभीएसको दोस्रो मोडलको रूपमा । टीभीएसले पहिलो मोडलको रूपमा ‘आइक्युब’ भित्र्याएको थियो ।
दुवै स्कुटर आरामदायी यात्रा, दैनिक प्रयोग र आधुनिक प्रविधिलाई केन्द्रमा राखेर निर्माण गरिएका हुन् । तर, डिजाइन, मोटर पावर, ब्याट्री क्षमता, रेन्ज, फिचर र प्रयोग अनुभवका हिसाबले यी दुई स्कुटरमा धेरै भिन्नता पाइन्छ । यिनै आधारमा यहाँ हामीले तुलनात्मक विश्लेषण गरेका छौं ।
डिजाइन र साइज
अर्बिटर स्कुटरलाई कम्पनीले विशेषगरी परिवार केन्द्रित ग्राहकलाई ध्यानमा राखेर विकास गरेको । भीडा अलि युवा केन्द्रित डिजाइनमा छ । यी स्कुटरमा फराकिला सिट, पर्याप्त लेग स्पेस र सहज राइडिङ पोजिसन दिइएको छ ।

दुवै स्कुटर आधुनिक र हल्का सिम्पल स्पोर्टी डिजाइनमा छन् । अर्बिटरको छनोट फ्यामिली प्रयोगकर्तासँगै प्रिमियम लुक खोज्ने ग्राहकले गर्न सक्छन् भने भीडाको स्टाइलले बढी युवा पुस्ता तार्गेट गरेको देखिन्छ । त्यस्तै, टीभीएसको फ्रन्टमा भाइजर र भीडाको रियरमा ब्याक रेस्ट दिइएको छ ।
ब्याट्री र रेन्ज
भीडा भीएक्स २ गो र प्लस गरी दुई ब्याट्री प्याक भेरियन्टमा उपलब्ध छ । भीएक्स २ गोमा २.२ किलोवाट आवर र भीडा भीएक्स २ प्लसमा ४.४ किलोवाट आवर क्षमताकोे ब्याट्री दिइएको छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर आइडीसी रेन्ज दिन्छ । यसको ब्याट्रीलाई २० देखि ८० प्रितिशत चार्ज हुन २ घण्टा १९ मिनेट र २ घण्टा २८ मिनेट समय लाग्छ । यसमा फास्ट चार्जर सिस्टम पनि समावेश गरिएको छ ।
टीभीएस अर्बिटर भीटू भने ३.१ किलोवाट आवरको ब्याट्री प्याक क्षमतामा छ । यसले १५८ किलोमिटर भन्दा बढि रेन्ज प्रदान गर्ने आइडीसीले प्रमाणित गरेको छ । यसको ब्याट्रीलाई ० देखि ८० प्रतिशत चार्ज हुन ४ घण्टा १० मिनेट समय लाग्छ । यसमा फास्ट चार्जर सिस्टम छैन । यहाँ ब्याट्री रेन्जका आधारमा भने भिडा बलियो देखिन्छ ।
मोटर र पर्फमेन्स
भीएक्स २ मा ६ किलोवाटको मोटर जडान गरिएको छ । यसको गो भेरियन्टको टप स्पिड ७० र प्लसको ९० रहेको छ । पावर र मोटर क्षमता एउटै भए पनि भीएक्स २ प्लसले ठूलो ब्याट्री र फरक सफ्टवेयर ट्युनिङका कारण बढी टप स्पिड दिन्छ ।
टीभीएस अर्बिटरको पावर र पर्फमेन्सलाई खासै प्राथमिकता राखिएको देखिँदैन । यसमा २.५ पिक किलोवाट क्षमताको रियर ह्वील माउन्टेड मोटर दिइएको छ । एसको टप स्पीड ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
फिचर र प्रविधि
भीडाको प्लस भेरियन्टको तुलनामा गोमा अलि फरक फिचर दिइएको छ । प्लसमा टीएफटी डिस्प्ले इको, राइड, स्पोर्ट मोड, डबल रिमुमेभल ब्याट्री, डिस्क ब्रेक छ भने गोमा एलसीडी डिस्प्ले, इको र राइड मोड, सिंगल ब्याट्री र ड्रम ब्रेक पाइन्छ ।

साथै, यी स्कुटरमा पूरा एलईडी लाइट सेटअप, स्मार्ट कनेक्टिभिटी सिस्टम, ओटीए अपडेट, एप सपोर्ट, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स मोड, चार्जिङ पोर्ट, अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक जस्ता फिचरहरू छन् ।
अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले दिइएको छ । साथै, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट, रियर डुअल सक सेटअप, अलोय ह्वील, ड्रम ब्रेक, रिमुमेभल ब्याट्री सिस्टम लगायतका फिचरहरू छन् ।
स्टोरेज
फ्यामिली स्कुटरको रूपमा बजारमा आएका यी दुवै स्कुटरको सबैभन्दा ठूलो विशेषता यसमा दिइएको ठूलो स्टोरेज क्षमता हो । जसले गर्दा स्कुटरमा दैनिक प्रयोगका सामान राख्न पर्याप्त ठाउँ पाइन्छ । अर्बिटरमा ३४ लिटर र भीएक्सको दुवैै भेरियन्टमा समान ३३.२ लिटरको स्टोरेज छ ।
मूल्य
भीडाको भीएक्स २ को कम रेन्ज र हाई रेन्जको मूल्यमा १ लाख रुपैयाँ फरक छ । हिरोले भीडा भीएक्स २ गो कम रेन्ज भेरियन्टको २ लाख ९९ हजार ९०० रुपैयाँ र प्लस हाई रेन्ज भेरियन्टको ३ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
फिचर अलि धेरै भए पनि अर्बिटरमा मोटर सानो र ब्याट्री अप्सन एउटा मात्रै पाइन्छ । त्यसैले यसको मूल्य भीडाभन्दा सस्तो रहेको छ । टीभीएस नेपालले अर्बिटर भीटूको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकेको छ ।
निष्कर्ष
भीडा भी २ र अर्बिटर भी २ दुवै नेपाली ईभी बजारका लागि नयाँ विकल्प हुन् । दुवै स्कुटरको नयाँ डिजाइन, आधुनिक फिचर र सस्तो मूल्य राम्रो पक्ष हो । तपाईंलाई अलि बढी रेन्ज, ठूलो मोटर र पर्फमेन्स दिने स्कुटर चाहिएको छ भने भीडा उपयुक्त विकल्प बन्न सक्छ । सस्तो मूल्यमा हाइटेक फिचर भएको र राम्रै रेन्ज दिने स्कुटरको खोजीमा हुनुहुन्छ भने अर्बिटर उपयुक्त देखिन्छ । तपाईंले आफ्नो रोजाइ, आवश्यकता र बजेटका आधारमा यी विकल्पमध्ये एक छनोट गर्न सक्नुहुनेछ ।


