काठमाडौं । निसान टेकटन एसयूभी नेपालमा सार्वजनिक भएकाे छ । आजबाट सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टेकटन एसयूभी सार्वजनिक भएको हो ।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले टेकटनकाे सुरुआती मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको छ । टप भेरियन्टको मूल्य ८३ लाख ६० हजार रुपैयाँ तोकेकाे छ ।
नयाँ टेकटन एसयूभी आकर्षक बडी लाइन, मस्कुलर डिजाइन र प्रभावशाली रोड प्रेजेन्सका कारण चर्चामा रहेको मोडल हो ।
आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजनसहित टेकटनले नेपालका ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
निसानको टेकटनको फ्रन्टमा एलईडी हेडल्याम्पको साथमा कनेक्टेड एलईडी डीआरएल रहेको छ । यसको बोनेट मस्कुलर डिजाइनमा छ । त्यहाँ टेकटनको ब्राण्डिङ समेत पाउन सकिन्छ । रियरमा पनि फ्रन्टमा जस्तै कनेक्टेड एलईडी टेललाइट सेटअप र टेलगेटमा टेकटनको ब्याजिङ रहेको छ । टेकटनको डिजाइन निसानको फ्ल्यागशिप एसयूभी पेट्रोलबाट प्रभावित भएको देखिन्छ ।
टेकटनको इन्टेरियर आधुनिक फिचरले भरिपूर्ण रहेको छ । यसमा तीन कलर टोनको ड्यासबोर्ड, डिजिटल ड्राइभर डिस्प्ले, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एण्डरोइड अटो, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्टसिट, पानारोमिक सनरुफ लगायत फिचर छ ।
निसानले टेकटनमा आफ्नो स्मार्टफोन एपमार्फत ५५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध गराएको छ । यसमा रिमोट इन्जिन स्टार्ट, एसी अन गर्ने सुविधा, रिमोट लकरअनलक, रिमोट लाइट तथा हर्न कन्ट्रोल, भेहिकल स्टाटस, फाइन्ड माई कार लगायतका सुविधा समावेस छन् ।
निसान टेकटन १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । सानो इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । कम्पनीका अनुसार यसको माइलेज १९.४ किलोमिटर प्रतिलिटर छ ।
यसमा रहेको ठूलो इन्जिनले १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन ६ स्पीड म्यानुअल र ६ स्पीड वेट डुअल क्लच अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । अटोमेटिक भेरियन्टमा प्याडल सिफ्टर र स्टेयरिङ मोड चयन गर्ने सुविधा उपलब्ध छ ।
टेकटनमा सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग स्ट्याण्डर्ड रूपमा उपलब्ध गराइएको छ । यसका अतिरिक्त एडास लेभल टुमा पाइने फिचरहरू छन् । ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, रोलओभर सेन्सर, हाइ टेन्साइल स्टिल सेफ्टी केज, साइड इम्प्याक्ट प्रोटेक्सन बीम तथा पैदलयात्री सुरक्षा प्रणाली जस्ता फिचर स्ट्याण्डर्ड रूपमा समावेश छन् ।


