नाइमामा गाडी किन्न बैंकले इतिहासकै सस्तो ब्याजमा ऋण दिने, कुनको कति ?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरको अटो कर्जा योजना ल्याएका छन् ।

बैंकमा पैसा थुप्रिएर बसेको र अटो शोमा धेरै गाडी खरिद बिक्री हुने भएकाले बैंकहरूले ग्राहक आकर्षित गर्न सस्तो ब्याजदरको कर्जा योजना ल्याएका हुन् ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा हाल बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँ बढी पैसा थुप्रिएर बसेको छ । निक्षेपको लागत घट्दा बैंकहरूको बेसरेट औसतमै ५ प्रतिशत हाराहारीमा झरेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि इतिहासकै सस्तोे भएको छ ।

नाइमा एक्स्पोमा सवारी किन्न बैंकहरूले न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएका छन् । जुन ब्याजदर नेपालको बैंकिङ इतिहासकै सबैभन्दा न्यून हो ।

कुनको ब्याजदर कति ?

नाइमामा ग्लोबल आइएमई, एनएमबी र सिद्धार्थ बैंक सहभागी छन् । नाइमा लक्षित गर्दै ग्लोबल आइएमईले सबैभन्दा सस्तो ब्याजदरको कर्जा योजना ल्याएको छ । बैंकले जम्मा ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको बेसरेटमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । हाल बैंकको बेसरेट ४.७५ प्रतिशत छ । सो अनुसार ग्राहकले न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै कर्जा पाउने बैंकले जनाएको छ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ ।

त्यस्तै, ग्लोबलले नाइमामा नयाँ ईभी गाडी किन्ने ग्राहकहरूको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्षपछि उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ ।

ग्लोबलले नयाँ गाडी किन्न चाहानेलाई सहजीकरण गर्न एक्सपोमै स्टल राखेर कर्जा प्रकृया अगाडि बढाउने व्यवस्था गरेको छ । गहकले त्यहीँबाट आवेदन दिन मिल्ने र कागजी प्रक्रिया पूरा गरेको बढीमा ३ दिनमै कर्जा स्वीकृतिपत्र दिने बैंकले जनाएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकले बेसरेटमा १ प्रतिशत प्रिमियम जोडर अटो कर्जा उपलब्ध गराउने भएको छ । असार मसान्तसम्म बैंकको बेसरेट ५.१३ प्रतिशत रहेको छ । सो अनुसार ग्राहकले सवारी किन्न ६.१३ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् । यसमा प्रोसेसिङ फी ०.५ प्रतिशत मात्र लाग्ने बैंकले जनाएको छ ।

यसैगरी, एनएमबी बैंकले विद्युतीय सवारी किन्न चाहानेलाई लक्षित गर्दै ‘ईभी अटो कर्जा’ योजना ल्याएको छ । यस योजना अनुसार ग्राहकले बेसरेटमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा पाउने बैंकले जनाएको छ ।

हाल एनएमबीको बेसरेट ५.११ प्रतिशत छ । सो अनुसार ग्राहकले ५.६१ प्रतिशत ब्याजदरमै कर्जा पाउने छन् । त्यस्तै, एनएमबीले नेपालमै पहिलोपटक रिकण्डिसन ईभी खरिदमा पनि कर्जा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, हुलास फिनसर्भले पनि नाइमामा सहज कर्जा सुविधा योजना ल्याएको छ । कम्पनीले नयाँ तथा पुराना दुवै सवारी खरिदका लागि कर्जा प्रदान गर्दा सेवा शुल्क नलिने भएको छ ।

नाइमा स्कीम नभने पनि नबिल बैंकले ५.४४ प्रतिशत ब्याजदरमै अटो लोन योजना ल्याएको छ । बैंकका अनुसार ग्राहकले अटो कर्जा लिँदा ०.७५ प्रतिशत प्रशासनिक शुल्क र ०.१५ प्रतिशत कमिटमेन्ट शुल्क तिर्नुपर्नेछ ।

मुक्तिनाथ विकास बैंकले नाइमामालाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरको अटो लोन स्कीम ल्याएको छ । यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बैंकले जनाएको छ ।

नाइमामा सहभागी नभएका बैंकहरूले पनि हाल बेसरेटमै ०.५ प्रतिशतदेखि १ प्रतिशत प्र्रिमियम जोडेर सवारी किन्न कर्जा दिइरहेका छन् । ग्राहकले सहजै ६/६.५ प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ ।


Back_to_top