काठमाडौं । चिनियाँ बण्ड वुलिङको मिनी ईभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि वुलिङको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा मिनी ईभ बिक्री सुरू गरेको हो ।
कम्पनीले वुलिङ मिनी ईभीको सुरूआती मूल्य १९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । वुलिङको ‘होङगुआङ’को पाँचौं जेनेरेशन मोडल नेपालमा भने ‘मिनी ईभी’ नामबाट आउने छ ।
४ ढोके यो मिनी ईभीको लम्बाइ ३२६८ एमएम, चौडाइ १५२० एमएम र उचाइ १५७५ एमएम छ । कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ । जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । स्टायण्डर्ड, ईको र स्पोर्ट मोड आवश्यकता अनुसार चालकले प्रयोग गर्न सक्नेछन् ।
मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरकाे ब्याट्री अप्सन पाउन सकिन्छ । जसले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गर्न सकिने मिनी कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्नेछ ।
यसमा मोबाइल एप कनेन्टिभिटी उपलब्ध कारमा थुप्रै सुरक्षा फिचर छन् । इलेक्ट्रीक पार्किङ ब्रेक, दुई एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड, डाइनामिक ब्रेक फङ्सन, ट्रयाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक असिस्ट, अटो होल्ड जस्ता फिचर छन् ।
‘हाइ स्ट्रेन्थ स्टील’को प्रयोग भएको मिनी कार सहरी क्षेत्रको लागि निकै स्मार्ट मोबिलिटी हुने अनुमान गर्न सकिन्छ । यहाँका साँघुरा गल्ली र टाइट पार्किङमा पनि यसलाई सहजै लान र राख्न सकिन्छ । हाइ डेफिनेशन क्वालिटीको रिभर्स इमेज, रियर पार्किङ सेन्सर जस्ता फिचरले चालकलाई निकै सहज बनाउने छ ।
यसको चेसिस पनि सहर केन्द्रित नै छ । आरामदायी यात्रालाई ध्यानमा राखेर बनाइएको मिनी कारको चारवटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि ३ तहको छ । जहाँ कम्र्फट, स्टायण्डर्ड र स्ट्रङ मोड पाउन सकिन्छ ।


