काठमाडौं । मोरिस ग्यारेज (एमजी)को एचएस प्लगइन हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक भएको छ ।नेपालका लागि एमजी (चीन)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जारी नाइमा मोबिलिटी एक्स्पोमा एमजी एचएस पीएचईभी बिक्री सुरू गरेको हो ।
कम्पनीले एचएस प्लगइन हाइब्रिडको मूल्य १ करोड २० लाख रुपैयाँ तोकेको छ । पर्फमेन्स, विद्युतीय रेन्ज, व्यावहारिकता र मूल्यका कारण यो एसयूभी विश्व बजारमा निकै सफल छ ।
एमजी एचएस एसयूभीमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनसँगै १३५ किलोवाटको इलेक्ट्रीक मोटर जोडिएको छ । दुवैको संयुक्त रूपमा २९५ बीएचपी रहने छ ।
पावरफुल इन्जिन भएको कारण एचएस हाइब्रिड एसयूभीले ० देखि १०० किलोमिटरको स्पीड केबल ६.१ सेकेण्डमै भेट्टाउने छ । ब्याट्री र इलेक्ट्रीक मोटर प्रयोग भएको कारण चलाउन पनि निकै सहज लाग्छ ।
एमजी एचएस प्लगइन हाइब्रिड एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको विद्युतीय रेन्ज हो । कम्पनीले यसको आधिकारिक इलेक्ट्रीक रेन्ज १२० किलोमिटर दाबी गरेको छ । विभिन्न परीक्षणमा ११० किलोमिटर माथि प्योर ईभी रेन्ज पाइएको छ ।
रोचक कुरा के छ भने एमजी एचएस हाइब्रिड मोडलले प्रति किलोमिटर कार्बन उत्सर्जन केबल १२ ग्राम मात्रै गर्छ । औसत पेट्रोल कारले १०० किलोमिटरको यात्रा गर्दा १७ केजी कार्बन उत्सर्जन गर्छ ।
एमजी एचएसको अर्को बलियो पक्ष यसको फराकिलो इन्टेरियर हो । यसको ५०७ लिटर क्षमताको बुट स्पेस सेग्मेन्टकै ठूलो मानिन्छ । ड्यासबोर्डमा दुईवटा १२.३ इन्चका स्क्रीन दिइएको छ ।
यसमा १९ इन्चको एलोय ह्वील, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा र किलेस इन्ट्रीजस्ता सुविधा उपलब्ध छन् । साथै, भेन्टिलेटेड फ्रन्ट सिट, हेडअप डिस्प्ले र वायरलेस स्मार्टफोन चार्जिङ सुविधा छ ।
कम्पनीले यसको मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा डेढ लाख किलोमिटर (जुन पहिला आउँछ) वारेन्टी दिएको छ ।


