काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नामइमा मोबिलिटी एक्स्पो २०२६ मा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ अवलोकनकर्ताको आकर्षणमा परेको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले साउन पहिलो साता लन्च गरेको इमास फाइभ एक्स्पोमा विशेष आकर्षणको केन्द्र बनेको हो ।
साउन ३१ गतेसम्म संचालन हुने एक्स्पोमा इमासको स्टल हल ‘बी’ स्थित स्टल ‘एल-६’ मा रहेको छ । सार्वजनिक भएसँगै यो ह्याचब्याक अत्यधिक मात्रामा बुकिङ भइरहेको छ ।
कम्पनीले प्रोटोन इमास फाइ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
सेग्मेन्टमै पहिलोपटक रियर-ह्वील-ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडीसडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इमास फाइभमा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसमा रियर मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुलएचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दुरी, जी ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ ।
त्यसैगरी यसमा ४.९५ मिटरका टर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल टु लोड (भीटुएल) जस्ता प्रविधिहरू उपलब्ध छन् । त्यस्तै यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११-इन-१ इलेक्ट्रिक मोटर र पावर्ड टेलगेट, ३६०-डिग्री क्यामेरा जस्ता उत्कृष्ट फिचर छन् ।


