कलंकी-कोटेश्वर सडक सरकारले दिए आफै सुरक्षीत बनाउँछौः चिरिबाबु

काठमाडौं । चक्रपथ अन्तर्गतको कलंकी–कोटेश्वर सडकखण्ड बढी दुर्घटना हुने सडकको रुपमा परिचित रहेको छ । चिनियाँ कम्पनीले निर्माण गरेको उक्त सडकखण्ड डिजाइनमा त्रुटी भएका कारण समेत दुर्घटना बढी हुने गरेको विज्ञहरुको भनाई छ । 

यस क्षेत्रमा ट्राफिक लाइट नहुनु, ८ लेनको बाटोमा डिभाइडर नहुनु, कतै बाटो काट्न अकाशेपुल जस्ता आवश्यक पूर्वाधारको निर्माण नभएकै कारण बढी दुर्घटना हुने गरेको पाइन्छ । 

उक्त सडकखण्ड निर्माण पुरा भई सञ्चालनमा आइसकेका कारण त्यसमा डिजाइन परिवर्तन गर्ने की के गर्ने भन्ने विषय अझै अन्योलमा रहेको छ । ललितपुर नगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुले समेत त्यस विषयमा मन्त्रालयमै धेरै पटक कुरा उठाएको बताए । 

उनले यस विषयमा सरकारको ध्यानआकर्षण बारम्बार गराउँदा समेत त्यहाँ जेब्राक्रसिङ बाहेक केही नराखिएको बताए । ‘मैले सरकारमा यो कुरा धेरै पटक लगेको छु, डिजाइन परिवर्तन गर्न नसकिए त्यहाँ सुरक्षा अपनाउन सकिन्छ, त्यसका लागि केही गरौँ पनि भने तर, अहिलेसम्म जेब्रा क्रसिङ बाहेक केही गरिएको छैन,’ मेयर महर्जनले मेरोअटोसँग भने । 

सरकारले सो सडकखण्डमा केही गर्न नसक्ने हे भने ललितपुर महानगरले त्यहाँ सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने उनले बताए । उक्त सडकखण्ड हाल सडक विभागको मातहतमा रहेको छ । 

उनले जेब्रा क्रसिङ मात्रले दुर्घटना नियन्त्रण नहुने भएको भन्दै त्यसमा फुट पाथमा रेलिङ निर्माण गरेर समेत सडकलाई सुरक्षित बनाउन सकिने बताए । 

मानिसहरुले खुल्ला ठाउँ देखेपछि जुनसुकै ठाउँबाट बाटो काट्ने हुँदा दुर्घटना हुने गरेको बताए । ‘अहिलेसम्म नेपाल सरकारले हामीलाई दिएको छैन, दियो भने हामी जति सुकै खर्च लागे पनि आफैं बनाउँछौ,’ महर्जनले भने । 


Back_to_top