काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरुका लागि काठमाडौंबाट व्यक्तिगत रूपमा राहत सामग्रीहरु लिएर जानेहरू बढ्दा सडकमा ट्राफिक चाप (जाम) बढेको छ ।
पूर्वसमन्वयविना साना निजी सवारी साधन प्रयोग गरी थोरैथोरै राहत सामग्री लिएर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा टोखा–छहरे–त्रिशुली-सडकमा सडकमा अत्याधिक सवारी चाप बढेको हो ।
जस कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सहरूले सहज रूपमा बाटो पाउन सकेका छैनन् भने नेपाल सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकताका राहत वाहकहरूसमेत समयमै गन्तव्यमा पुग्न कठिन स्थिति बनेको छ।
साथै, विषम अवस्था र जोखिमयुक्त भूगोलमा पूर्वतयारीविना पुग्दा स्वयं राहतदाताहरूको सुरक्षामा समेत जोखिम थपिन गएको छ।
त्यसैलाई मध्येनजर गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गरिदिनुहुन आग्रह गरेको छ ।
आफूखुसी राहत लिएर जाँदा सडकमा जाम हुनका साथै उद्धार तथा राहत कार्यलाई थप भद्रगोल र जोखिमयुक्त हुन नदिन यस्तो अनुरोध गरेको हो ।
अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहनेले अनिवार्य रूपमा आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गरेर मात्र राहत सामग्री हस्तान्तरण वा परिचालन गर्न सचिवालयले अनुरोध गरेको छ ।
विपद्को यस कठिन घडीमा पीडितहरूलाई सहयोग गर्ने नागरिक तथा सामाजिक संस्थाहरूको भावना र तत्परता सराहनीय भए समन्वयन नगरी नजान अनुरोध गरेको हो ।


