काठमाडौं । संघीय राजधानी काठमाडौं आउने लाइफ लाइन नागढुंगा–मुग्लिन सडक बन्द भए पनि पेट्रोलियम पदार्थको ढुवानी तथा आपूर्ति नियमित बनाउने तयारी थालिएको छ ।
आइतबार बिहान त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरमा भित्तो कटान गर्दा सडक भासिएसँगै सवारी आवगनम ठप्प भएको छ । पृथ्वी राजमार्ग बन्दभएसँगै नेपाल आयाल निगमले वैकल्पिक सडकबाट इन्धन ढुवानी गर्ने तयारी थालेको हो ।
निमगका प्रवक्त मनोजकुमार ठाकुरले पृथ्वी राजमार्ग बन्द भएसँगै वैकल्पिक सडक हुँदै पेट्रोलियम ढुवानी गर्न आवश्यक छलफल भइरहेको जानकारी दिए ।
उनका अनुसार हेटौंडाबाट त्रिभुवन राजपथ हुँदै ढुवानी गर्ने तयारी थालिएको छ । ‘नियमित पेट्रोलियम पद्धार्थ ढुवानी गर्ने सडक बन्द भएको छ । त्यसैले, काठमाडौं उपत्यका लगायत ठाउँमा इन्धन अभाव हुन नदिन अहिल्यैदेखि तयारी थालेका छौं । हेटौंडा हुँदै वैकल्पिक सडकबाट ढुवानी गर्ने बारे छलफल भइरहेको छ,’ उनले मेरोअटोसँग भने ।
वैकल्पिक सडकबाट ठूला ट्रयांकर आउन असहज हुने भएकाले साना ट्रयांकरबाट ढुवानीको व्यवस्था मिलाइने उनले बताए । भारतबाट अमलेखगंज डिपोसम्म पेट्रोलियम पद्धार्थ आयातमा कुनै समस्या नरहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए । त्यहाँबाट काठमाडौं आउने नियिमित सडक बन्द भएसँगै विकल्प खोजिएको उनको भनाइ छ ।
‘भारतबाट नेपालमा इन्धन आयातमा कुनै समस्या छैन । अमलेखगंज डिपोसम्म पाइपलाइनबाटै आइरहेको छ,’ उनले भने। त्यहाँबाट काठमाडौं ल्याउने नियमित बाटो बन्द भए पनि वैकल्पिकबाट ल्याउने तयारी गर्दैछौं । अभाव हुँदैन ।’ केही दिनलाई पुग्ने इन्धन स्टक रहेको र अब वैकल्पिक सडकबाट ल्याइने भएकाले अभाव नहुने उनको भनाइ छ ।
उनले यसअघि सडक बन्द हुँदा रोकिएका ट्यांकर समेत शनिबार काठमाडौं भित्रिसकेकाले तत्काल इन्धन अभाव नहुने उको भनाइ छ ।
बुधबार भोटेकोशीमा आएको बाढीले लेदो थुपार्दा मुग्लिन-नागढुंगा सडक ३ दिन बन्द भएको थियो । शुक्रबार बेलुकादेखि खुलेको सडक आज बिहानदेखि फेरि बन्द भएको छ ।
यसैबीच, सडक विभागले कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ । फिल्डमा प्राविधिक पुगेर त्यस क्षेत्रको अध्ययन थालिसकेका छन् । उक्त टोलिले दिएको सुझावका आधारमा सडक सुचारु गराउन आवश्यक काम थालिने विभागले जनाएको छ ।


