काठमाडौं । भृकुटीमण्डपमा आज साँझसम्म समापन हुने नाडा अटो शो २०२६ मा सर्वाधिक बुकिङ हुने मोडल बन्यो नामी भिगो एसयूभी । नाडा अटो शो सुरु हुनु ५ दिन अगाडि बुकिङ खुला भएको भिगो यस वर्षको अटो शो ‘विनर’ मोडल बनेको हो ।
यसअघि ४३ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको भिगो एसयूभीमा एक साइज सानो ह्वील (१७इन्च) र मुनरुफ हटाएर मूल्य भने ८ लाख रुपैयाँ कम गर्दै एमएडब्लू वृद्धिले भिगो एसयूभी बजारमा ल्याएको थियो । कम्पनीले नाडा अटो शो २०२६ अवधिभर २ लाख रुपैयाँ छुट भन्दै ३५ लाख ९९ हजार मूल्य तोकेपनि बुकिङ प्रेसरपछि तोकिएको एमआरपी ३७ लाख ९९ हजार नै मूल्य बनाइएको थियो ।
पहिलो दिन नै थेगिनसक्नु बुकिङ भयो । तिहारपछि मात्रै गाडी दिन्छौं भन्दा पनि धेरै उपभोक्ताले बुकिङ गर्नु भयो । त्यसैले दोस्रो दिन नै गाडीको एमआरपीमै बुकिङ लिनु पर्ने अवस्था बनेको कम्पनी स्रोतले मेरोअटोसँग भन्यो । मूल्य बढेपनि बुकिङ निरन्तर रहेको कम्पनीको भनाइ छ ।
‘मूल्य अनुसार कर लाग्छ । डलरको भ्यालूसँग मूल्य जोडिन्छ । लामो समयपछि गाडी दिनेगरी बुकिङ लिन कठिन भयो । सप्लाई भन्दा बढी बुकिङ भएपछि बाध्य भएर घोषणा भएको छुट रकम हटाउनु परेको हो’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
बुकिङ खुला भएपछि आज दिउँसोसम्म करिब १ हजार ७०० युनिट भिगो एसयूभी बुकिङ भइसकेको बिक्रेताको दावी छ ।
के नामी भिगो एसयूभीमा ?
आकर्षक डिजाइन, आधुनिक फिचर, व्यवहारिक र किफायती मूल्य नामी भिगोको सबैभन्दा बलियो पक्ष हो । ‘रुबिक्स क्युब’ डिजाइनमा आधारित एसयूभीको अगाडि भागमा आधुनिक हेडलाइट डिजाइन, एलईडी डीआरएल, छेउमा सेमी हिडन डोर ह्याण्डल र पछाडि विशेष किसिमको ट्रयाङ्गुलर टेललाइट पाउन सकिन्छ ।
नामी भिगोमा ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसले ३ सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्छ । १६७ किलोवाटको डीसी फास्ट चार्जरबाट यसको ब्याट्री केबल १८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

भिगो एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसले १६० न्युटन मिटर टर्क प्रदान गर्छ । १९० एमएमको ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची किसिमको सडकमा पनि सहजै चलाउन सकिन्छ ।
यसको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र चौडाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिने भिगो एसयूभीको क्याबिनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।
कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ ।
नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ ।
यसमा वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ ।
तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।
यसमा ६ एयरब्याग, एडास लेभल टु, र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचर छन् ।


