काठमाडौं । अमेरिकी एसयूभी निर्माता जीपले पूर्ण अफरोड क्षमता भएको इलेक्ट्रीक एसयूभी अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । कम्पनीले रेकन एसयूभीलाई ईभीमा ल्याएको हो ।
जीप रेकन पूर्ण विद्युतीय एसयूभीका रूपमा बजारमा आएको छ । जीपले सधैँ अफरोड क्षमतामा अब्बल एसयूभीलाई ‘ट्रेल रेटेड’ गरेर ल्याउने गरेको थियो । नयाँ रेकन पनि पूर्ण अफरोड क्षमता भएको ‘ट्रेल रेटेड’ इलेक्ट्रीक एसयूभीका रूपमा बजारमा आएको हो ।
अमेरिकी कार निर्माताले रेकन एसयूभीमा अगाडि र पछाडि छुट्टाछुट्टै २५० किलोवाटका इलेक्ट्रीक ड्राइभ मोड्युल दिएको छ । दुबै मोटरको संयुक्त पावर ५०० किलोवाट (६५० हर्सपावर) रहेको छ ।
कम्पनीका अनुसार ६५० हर्स पावरको मोटरले ८४० एनएम टर्क उत्पादन गर्नेछ । इलेक्ट्रीक मोटरले तत्काल टर्क उपलब्ध गराउने भएकाले रेकनले ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड केबल ३.७ सेकेन्डमा पूरा गर्ने कम्पनीको दाबी छ ।

१०० किलोवाट आवरको ब्याट्री
जीप रेकनमा १०० किलोवाट आवर क्षमताको ४०० भोल्ट ब्याट्री प्याक प्रयोग गरिएको छ । अफरोड ड्राइभिङका क्रममा ब्याट्रीलाई ढुंगा, चट्टान तथा अन्य अवरोधबाट जोगाउन यसको तल्लो भागमा बलियो स्टिल अन्डरबडी शिल्ड उपलब्ध गराइएको कम्पनीको दावी छ ।
प्योर अफरोड मोडल भएका कारण यसले ४५० किलोमिटर रेन्ज जस्तोसुकै कठिन बाटोमा पाउन सकिने कम्पनीको दावी छ ।

पाँच ड्राइभिङ मोड
रेकनमा जीपको सेलेक्ट टेरेन ट्रयाक्सन म्यानेजमेन्ट सिस्टम दिइएको छ । यसमा अटो, स्नो, स्यान्ड, रक र स्पोर्ट गरी पाँच ड्राइभिङ मोड पाउन सकिन्छ । गाडी चलाउने भू-भाग र मौसमअनुसार यी मोड परिवर्तन गरेर गाडीको ट्रयाक्सन तथा पावर डेलिभरी व्यवस्थापन गर्न सकिन्छ ।
प्योर अफरोडर र लकिङ डिफरेन्सियल
रेकनको सबैभन्दा महत्वपूर्ण पक्ष यसको स्ट्यान्डर्ड इलेक्ट्रीक फोर-ह्वील ड्राइभ हो । अगाडि र पछाडिका मोटरले छुट्टाछुट्टै पाङ्ग्रामा पावर व्यवस्थापन गर्न सक्छन् ।

यसमा इलेक्ट्रोनिक लकिङ रियर डिफरेन्सियल पनि उपलब्ध छ । आवश्यक पर्दा यसलाई लक गरेर पछाडिका दुवै पाङ्ग्रामा टर्क पठाउन सकिन्छ । अगाडिको एक्सलमा भने ऊर्जा बचतका लागि स्वचालित डिस्कनेक्ट प्रणाली प्रयोग गरिएको छ ।
अफरोड डिजाइन
रेकनको डिजाइन पनि परम्परागत जीप शैलीसँग जोडिएको छ । यसमा ३३ इन्चका अफरोड टायर उपलब्ध छन् । अझ विशेष कुरा, यसको ढोका हटाउन सकिन्छ । साथै स्विङ गेट ग्लास र रियर क्वार्टर ग्लास हटाएर खुला वातावरणमा ड्राइभिङको अनुभव लिन सकिन्छ ।
जीपका अनुसार रेकन पूर्ण विद्युतीय ‘ट्रेल रेटेड’ एसयूभी हो । यसको अर्थ ट्रयाक्सन, ग्राउन्ड क्लियरेन्स, म्यानुभरेबिलिटी, वाटर फोर्डिङ र आर्टिकुलेसनजस्ता अफरोड क्षमतामा परीक्षण गरिएको छ ।

प्राप्त बिबरण हेर्दा रेकन सामान्य सहर केन्द्रित इलेक्ट्रीक एसयूभीभन्दा फरक छ । ६५० एचपीको पावर, ८४० एनएम टर्क, १०० किलोवाट आवरको ब्याट्री र इलेक्ट्रीक ४वाइ४ सिस्टम भएको कारण परम्परागत अफरोड पहिचानलाई कायम राख्ने प्रयास गरेको देखिन्छ ।


