काठमाडौं । नयाँ कार खरिद गर्दा अधिकांश ग्राहकले गाडीको मूल्य, छुट र फिचरमा बढी ध्यान दिन्छन् । तर, कार किन्न लिइने बैंक ऋणको विषयमा खासै चर्चा गरेको पाइँदैन ।
गाडी किन्न कर्जा लिने मानिसले ऋणको ब्याजदर, कर्जा अवधि, डाउन पेमेन्ट र अन्य शुल्कमा ध्यान नदिँदा गाडीको वास्तविक लागत अपेक्षाभन्दा निकै महँगो पर्न सक्छ । त्यसैले वित्तीय योजना नबुझि कर्जा दिँदा लाखौ रुपैयाँ स्वाहा हुनसक्छ ।
अहिले नेपालमा इतिहासकै सस्तो अटो लोन लिन पाइन्छ । बैंकहरूले ५ प्रतिशतभन्दा कम ब्याजदरमै अटो कर्जा उपलब्ध गराएका छन् । त्यसैले कर्जा लिनु अगाडि बैंकहरूसँग राम्रोसँग ‘बार्गेनिङ’ गर्न सक्नेले राम्रो ब्याजदर पाउने छन् ।
यसका अलावा गाडी बिक्रेता कम्पनीहरूले नै आफ्नो हायर पर्चेज कम्पनी वा बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर फाइनान्सिङ सुविधा उपलब्ध गराएका हुन सक्छन् । त्यो पनि बुझ्नु पर्छ ।
त्यसले कार किन्नु अगाडि कर्जा लिँदा ध्यान दिनु पर्ने कुराहरूलाई हामीले यहाँ बुँदागत रुपमा चर्चा गरेका छौं ।
१. आफूले ऋण लिन सक्ने रकम एकिन गर्नुहोस्
कार हेर्न शोरुम जानु अगाडि तपाईंले आफ्नो मासिक आम्दानी, नियमित खर्च, डाउन पेमेन्ट र मासिक किस्ता तिर्न सक्ने क्षमताको हिसाब निकाल्नु पर्छ ।
यदि, तपाईं ५० लाख रुपैयाँको कार किन्न जाँदै हुनुहुन्छ भने त्यसको ४० प्रतिशत रकम डाउन पेमेन्टको लागि अनिर्वाय चाहिन्छ । डाउन पेमेन्टपछिको बाँकी रकम कति वर्षका लागि ऋण लिने भन्ने निर्णयले मासिक किस्ता मात्रै होइन, अन्तिममा तिर्नुपर्ने कुल रकमसमेत परिवर्तन गर्छ ।
कहिलेकाही सस्तो मासिक किस्ता भन्दै लामो अवधिको ऋण लिनेहरू भेटिन्छन् । त्यो डिल फाइदाजनक नहुन सक्छ ।
२. धेरै बैंकको अफर बुझ्नुहोस्
नेपालमा हाल २० वटा मात्रै कमर्शियल बैंक छन् । यस्तोमा एउटा मात्रै बैंकसँग कुरा गरेर कर्जा लिँदा महँगो पर्न सक्छ । अहिले ५ प्रतिशतभन्दा कम ब्याजदरमै सरकारी बैंकहरूले कर्जा उपलब्ध गराएका छन् ।
त्यसैले कम्तीमा कार लोन लिनुअघि ३-४ वटा बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर र अन्य शुल्कबारे जानकारी लिनु राम्रो हुन्छ । बैंकहरूसँग ब्याजदर कति भन्ने प्रश्न गर्ने मात्र होइन । बैंकको बेस रेट कति छ ? बेस रेटमा प्रिमियम कति लाग्ने हो ?, ब्याजदर स्थिर हो कि परिवर्तनशील ?, कर्जाको अवधि कति हो ?, प्रोसेसिङ शुल्क कति लाग्छ ?, समयभन्दा पहिल्यै सबै भुक्तानी गर्दा शुल्क लाग्छ कि लाग्दैन ?, अनिवार्य बीमा तथा अन्य शुल्क कति हुन्छ ?, मासिक किस्ता कति आउँछ ? जस्ता कुरा एकिन गर्नुहोला ।
३. ‘कम ब्याजदर’ भएर मात्रै हुन्न
कुनै बैंकले अरूभन्दा कम ब्याजदर देखाए पनि अन्य शुल्क बढी हुन सक्छ । त्यसैले कार लोन तुलना गर्दा ब्याजदर मात्रै होइन, कुल ऋणको लागत हेर्नुपर्छ ।
उदाहरणका लागि ५० लाख रुपैयाँ ऋणमा १ प्रतिशत ब्याजदरको फरकले पनि ऋणको अवधि लामो हुँदा उल्लेख्य रकम फरक पर्न सक्छ । साथै, कर्जा प्रोसेसिङ शुल्कको बारेमा पनि एकिन जानकारी लिनुपर्छ ।
४. डाउन पेमेन्ट धेरै गर्ने कि थोरै
यदि तपाईंसँग पर्याप्त रकम छ भने डाउन पेमेन्ट बढाउँदा ऋणको मूल रकम घट्छ । त्यसले मासिक किस्ता र कुल ब्याज खर्च घटाउन सक्छ ।
आफूसँग भएको सबै बचत रकम कारको लागि डाउन पेमेन्टमा हालेर आफ्नो खाता रित्तो बनाउनु पनि राम्रो मानिँदैन । त्यसैले डाउन पेमेन्ट र आफ्नो नगद आवश्यकताको सन्तुलन मिलाउनुपर्छ ।
५. ऋण छोटो अवधिको लागि लिने कि लामो ?
लामो अवधिको ऋणमा मासिक किस्ता कम देखिन्छ । त्यसैले धेरै मानिस लामो अवधिको कर्जा लिन रुचाउँछन् । तर, लामो अवधिको कर्जामा ब्याज धेरै तिर्नुपर्ने हुन्छ ।
त्यसैले ग्राहकले ‘महिनामा कति किस्ता ?’ भन्दा पनि ‘ऋण सकिँदासम्म जम्मा कति रुपैयाँ तिर्छु?’ भनेर एकिन गर्नुपर्छ ।
६. बिक्रेताको स्कीम पनि हेर्नुहोस्
नेपालमा धेरैजसो अटो डिलरले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेका हुन्छन् । कतिपय अवस्थामा डिलरले ग्राहकलाई तत्कालै फाइनान्सिङ सुविधा उपलब्ध गराउँछन् ।
यसले प्रक्रिया सजिलो बनाउँछ । तर सजिलो भएकै कारण त्यही विकल्प सबैभन्दा सस्तो हुन्छ भन्ने हुँदैन । ग्राहकले आफैंले बैंकबाट लिएको प्रस्ताव र डिलरमार्फत आएको प्रस्ताव तुलना गरेर हेर्नुपर्छ । यदि, डिलरको प्रस्ताब बैंकको भन्दा राम्रो भयो भने त्यही विकल्प रोज्न सकिन्छ।
७. ‘शून्य प्रतिशत ब्याज’ वा ‘विशेष अफर’ पनि बुझ्ने
नेपालमा पनि विभिन्न समयमा अटो कम्पनीहरू शून्य प्रतिशत ब्याजदरको अफर ल्याएका हुन्छन् । यस्तो अफरमा ग्राहकले केवल ब्याजदर हेर्नुभन्दा कारको मूल्य, फाइनान्स गर्ने रकम, डाउन पेमेन्ट, प्रोसेसिङ शुल्क, बीमा र अन्य अनिवार्य खर्च तुलना गर्नुपर्छ ।
कम ब्याजदरको अफर र नगद छुटमध्ये कुन विकल्प फाइदाजनक हुन्छ भन्ने कुरा ग्राहकले छुट्याउनु पर्छ । अनि मात्रै तपाईंको कर्जा लिने निर्णय सही हुन सक्छ ।


