६००२ मिटरको उचाइमा पुगेर ‘फ्रिल्याण्डर ८’ले बनायो नयाँ विश्व कीर्तिमान

काठमाडौं । चेरी ज्यागुआर ल्याण्ड रोभरको सहकार्यमा बनेको फ्रिल्याण्डर ब्राण्डको पहिलो एसयूभी ‘फ्रिल्याण्डर ८’ले नयाँ विश्व रेकर्ड बनाएको छ ।

ईआरईभी एसयूभी फ्रिल्याण्डर ८ ले तिब्बतको ६,००२.३३ मिटरको उचाइमा पुगेर सबैभन्दा उचाइमा पुग्ने हाइब्रिड कारको रेकर्ड बनाएको हो ।

सेप्टेम्बर ३ मा चीनमा आयोजित औपचारिक सार्वजनिक कार्यक्रममा उक्त कीर्तिमानको घोषणा गरिएको हो। यसअघि जुलाई २०२४ मा बीवाइडीको ‘फाङ चेङ बाओ बाओ ५’ एसयूभी ५,९८०.०५ मिटरमा पुग्दै सर्वाधिक उचाइमा पुग्ने हाइब्रिड कारको रेकर्ड बनाएको थियो । फ्रिल्याण्डर ८ ले बाओ ५ भन्दा २२.२८ मिटर बढी उचाइमा पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

अगस्ट २२ मा गरिएको उक्त आरोहणका क्रममा गाडीले खुकुलो गिट्टी र कच्ची बाटो हुँदै २०० मिटरको ठाडो उचाइसहित करिब १,४८० मिटरको ट्रेल पार गरेको थियो । ६,००० मिटरको उचाइमा वायुमण्डलीय चाप घटेर ४७.२ केपीएमा झर्ने हुँदा अक्सिजनको चाप समुद्री सतहको तुलनामा आधाभन्दा कम हुन्छ।

यस्तो प्रतिकूल वातावरणमा पनि गाडीको १.५ लिटर टर्बोचाज्र्ड फोर सिलिण्डर रेन्ज एक्सटेन्डरले आफ्नो कुल उत्पादक क्षमताको ८० प्रतिशत कायम राख्न सफल भएको कम्पनीले जनाएको छ । पातलो हावामा टर्बोचार्जरले उच्च प्रेसर रेसियोमार्फत इन्जिनका लागि आवश्यक हावाको आपूर्ति सुचारु राखेको थियो।

२.९८ टन तौल भएको यो युनिबडी एसयूभीमा ६१० किलोवाट क्षमताको डुअल मोटर अल ह्वील ड्राइभ प्रणाली रहेको छ । यसको पछाडिको ड्राइभ युनिटमा टु स्पीड रिडक्सन गियरबक्स थपिएको छ। यसको पहिलो गियरले पाँग्रामा ८,००० न्यूटन मिटरसम्मको शक्तिशाली टर्क उत्पन्न गर्छ, जसले गाडीलाई ठाडो र कठिन उकालोमा सहजै अघि बढाउन मद्दत गर्छ।

निश्चित ह्वील टर्क मागका लागि यसले आवश्यक मोटर टर्क र करेन्टलाई घटाउन सक्छ । जसले निरन्तर कम गति सञ्चालनका क्रममा हुने विद्युतीय क्षति र थर्मल लोडलाई सम्भावित रूपमा कम गर्छ।

बडी अनफ्रेम ढाँचाका परम्परागत अफरोड गाडीहरूको तुलनामा युनिबडी संरचना भए तापनि यसले चेसिसमा कुनै संरचनात्मक क्षति बिना आरोहण पूरा गरेको छ। ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो गाडीमा ६०.३३ किलोवाट आवरको क्याटल फ्रीभोय ब्याट्री र हुवावेको अत्याधुनिक ‘च्यान्कुन एडीएस ५’ ड्राइभर असिस्टेन्स सिस्टम प्रयोग गरिएको छ ।

चिनियाँ बजारमा सुरूआती मूल्य ४१ हजार डलर तोकेर यसको बिक्री सुरू भइसकेको छ । प्रिमियम अफरोड एसयूभीको रुपमा बजारमा आएको फ्रिल्याण्डर टिज सार्वजनिक भएदेखि नै विश्वभर चर्चामा छ । बोल्ड डिजाइन, आधुनिक फिचर, प्रिमियम सुविधाले यो एसयूभीले सबैको ध्यान तानेको हो ।


Back_to_top