काठमाडौं । ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले दुई विद्युतीय एसयूभी नेपाल ल्याएसँगै टप ५ ब्राण्ड भित्र पर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षमा १ हजार ५०० युनिट बढी कार बिक्री गर्ने लक्ष्य लिएको हो ।
कम्पनीले विद्युतीय कारदेखि एसयूभी, प्लगइन हाइब्रिड तथा प्रिमियम एसयूभीसम्मको उत्पादन लाइनअप विस्तार गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउने योजना अघिसारेको हो ।
ओरा फाइभ र हाभल जोलियन म्याक्स ईभी नेपाल ल्याएसँगै कम्पनीले आक्रमक बजार विस्तार गर्ने लक्ष्य लिएको हो । कम्पनीसँग यी दुई इलेक्ट्रीक एसयूभीको अलावा ओरा थ्री ह्याचब्याक पनि छ ।
हाइब्रिडमा ट्यांक सिरिजदेखि हाभलको सिरिज पनि उपलब्ध हुने बताउँदै कम्पनीका जनरल म्यानेजर अधिर श्रेष्ठ भन्छन्, ‘यो वर्ष हाम्रो लक्ष्य १ हजार ५०० भन्दा बढी गाडी बिक्री गर्ने हो । त्यसका नयाँ मोडल बढाउने, डिलर नेटवर्क बिस्तार गर्ने, बिक्रीपछिको सेवा बलियो बनाउँदै जाने योजना छ ।’

कम्पनीले हालै नेपालमा ओरा ५ र जोलियन म्याक्सलाई मुख्य उत्पादनका रूपमा अघि सारेको छ । आगामी दिनमा ओरा ३ सहित ओरा सिरिजका अन्य रेन्ज तथा जोलियनमा थप भेरियन्ट ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
यसका अलावा प्रिमियम सेग्मेन्टमा हाभल एन-७ तथा ट्याङ सिरिजका मोडल ल्याउने योजनासमेत कम्पनीले बनाएको छ ।
ह्याचब्याक बजारमा ओरा ३ को सम्भावना
नेपालमा पछिल्लो समय ह्याचब्याक सेग्मेन्टप्रति ग्राहकको चासो पुनः बढ्न थालेको बताउँदै श्रेष्ठ भन्छन्, ‘नाडा अटो शोमा समेत ह्याचब्याक मोडलप्रति उपभोक्ताले देखिएको आकर्षणले यो सेग्मेन्ट पुनः विस्तार हुने संकेत दिएको छ ।’
नेपालमा पहिले नै बिक्री भएको ओरा ३ का ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ । ओरा ३ प्रयोग गरिरहेका ग्राहकहरूको ड्राइभिङ अनुभव, डिजाइन र रेन्जबाट खुसी भएर अन्य साथीहरूलाई ‘सिफारिस’ गर्दै आएका उनी दाबी गर्छन् ।

ओरा ३ को ड्राइभिङ अनुभव राम्रो छ । लुक्स मन पराइएको छ र समग्र रेन्जका हिसाबले पनि ग्राहकहरू सन्तुष्ट छन् । त्यसकै सफलताको कारण नयाँ ओरा ५ लाई बजारले सहजै मनपराएको श्रेष्ठ दाबी गर्छन् ।
एक महिनामै दुई नयाँ मोडल
नेपाली बजारलाई प्राथमिकतामा राख्दै जोलियन म्याक्स पहिलो अन्तर्राष्ट्रिय बजार बनेको कम्पनीको दाबी छ । नयाँ उत्पादन बजारमा ल्याउने रणनीति अनुसार छोटो समयमै दुई नयाँ मोडल बजारमा आएको छ ।
कम्पनीले नेपालमा आफूलाई केवल ४०-५० लाख रुपैयाँ पर्ने गाडीको सेग्मेन्टमा सीमित नगरी इन्ट्री मोडलदेखि लक्जरी सेग्मेन्टमा पनि उभ्याउँदै जाने योजना बनाएको छ ।
ओरा ५ लाई कम्पनीले फरक डिजाइन र विद्युतीय कारको नयाँ विकल्पका रूपमा प्रस्तुत गरेको छ । जोलियन म्याक्स परम्परागत एसयूभी डिजाइन रुचाउने ग्राहक लक्षित उत्पादन हो ।
देशभर १५ नेटवर्क
कम्पनीले लिएको बिक्री लक्ष्य पूरा गर्न डिलर तथा सर्भिस नेटवर्क बिस्तारलाई कम्पनीले महत्वपूर्ण आधार मानेको छ । जनरल मेनेजर श्रेष्ठका अनुसार हाल ६ वटा नेटवर्क संचालनमा छन् ।

सेप्टेम्बरभित्रै यसलाई १५ वटासम्म पुर्याउने लक्ष्य राखिएको छ । त्यसका लागि विभिन्न स्थानका नेटवर्कहरू लगभग निश्चित भइसकेका छन् ।
कम्पनीले पोखरा, नारायणगढ, विराटनगर, धनगढी, भैरहवा, इटहरी लगायतका क्षेत्रमा शोरुम तथा सेवा संजाल विस्तार गर्दैछ । भोलिदेखि नै नयाँ शोरुम उद्घाटन अभियान सुरू हुने श्रेष्ठले बताए ।
सबै नेटवर्कमा थ्री-एस अर्थात् बिक्री, सेवा र स्पेयर पाट्र्सको सुविधा उपलब्ध हुनेछ ।
बिक्रीसँगै सर्भिसमा ठूलो लगानी
कम्पनीले बिक्रीपछिको सेवालाई बिक्री जत्तिकै प्राथमिकता दिएको श्रेष्ठ बताउँछन् । त्यसको आधार नै काठमाडौंमा रहेको आफ्नो सर्भिस सेन्टर रहेको उनको दावी छ ।
स्पेयर पाट्र्सको उपलब्धता, उचित मूल्य र समयमै सेवा उपलब्ध गराउने विषयलाई ब्राण्ड निर्माणको महत्वपूर्ण आधारका रूपमा कम्पनीले उनी दाबी गर्छन् ।
टप-५ मा पर्छौँ
नेपालमा अहिले तीन दर्जनभन्दा बढी चिनियाँ ब्राण्ड प्रतिस्पर्धामा रहेको अवस्थामा जीडब्लूएमले शीर्ष पाँचभित्र पर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार फराकिलो उत्पादन लाइनअप, आक्रामक नेटवर्क विस्तार, बिक्रीपछिको सेवा र मार्केटिङ अभियानले उक्त लक्ष्य हासिल गर्न सहयोग गर्नेछ ।
‘हाम्रो प्रयास टप-५ मा पर्ने हो, त्यो पक्का जस्तै छ,’ जनरल म्यानेजर श्रेष्ठले भने ।
उनका अनुसार जीडब्लूएमको अन्तर्राष्ट्रिय बजारमा बोकेको लामो इतिहास, उत्पादनको गुणस्तर र ब्याट्री प्रविधिले नेपाली उपभोक्ताको मन जित्ने आधार बनेको छ । त्यसैले हामी यो वर्ष टप ५ भित्र पर्छौं ।


