काठमाडौं । आरामदायी यात्रा, राइडिङ अनुभव र भिन्टेज लुक्सका मोटरसाइकल खोज्ने खोज्नेहरू बीच रोयल इनफिल्ड विश्वभर लोकप्रिय छ ।
आधुनिक डिजाइन सँगसँगै आफ्नो परम्परागत लुक्स र ब्राण्ड लिगेसीलाई निरन्तरता कायम राख्न सफल रहेकाले रोयल इनफिल्ड धेरैको रोजाइ बन्न पुगेको हो ।
कम्पनीले हाल क्लासिक, क्रुजर, एड्भेन्चर लगायत सेग्मेन्टका मोटरसाइकल उत्पादन गर्दै आएको छ । कम्पनीले बजारमा नयाँ नयाँ मोडल र पुराना मोडललाई पनि अपग्रेड गरेर ल्याइरहेको छ ।
यसैक्रममा, रोयल इनफिल्डले आफ्नो लोकप्रिय क्लासिक ३५० मोटरसाइकललाई नयाँ विशेष संस्करण ‘गोर्खा एडिसन’ हालै बजारमा ल्याएको छ । जसले धेरैको ध्यान तानिरहेको देखिन्छ ।
गोर्खा रेजिमेन्टको विरासत र रोयल इनफिल्डको क्लासिक डिजाइनलाई जोडेर ल्याइएको यो मोटरसाइकल विशेषगरी यसको मिलिट्री शैलीको रङ, गोर्खा पहिचान झल्काउने संकेत र विशेष ग्राफिक्सका कारण चर्चामा छ ।
भारतमा लन्च भए लगतै नेपालमा पनि अल्फा अटोमोटिभले गोर्खा एडिसन मोटरसाइकल लन्च गरेको थियो । कम्पनीले नेपाली बजारमा रोयल इनफिल्ड क्लासिक गोर्खा एडिसनको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको हो ।

रोयल इनफिल्डका अरु क्यासिक ३५० मोटरसाइकलभन्दा यो किन खास छ ? यसबारे हामीले यहाँ चर्चा गरेका छौं ।
गोर्खा पहिचान झल्काउने विशेष ग्राफिक्स
क्लासिक ३५० गोर्खा एडिसनको सबैभन्दा ठूलो विशेषता यसको नयाँ ‘गोर्खा ग्रीन’ कलर हो । मिलिट्री शैलीबाट प्रभावित यो कलरले मोटरसाइकललाई फरक र रग्ड लुक प्रदान गर्छ ।
मोटरसाइकलको साइड प्यानलमा क्रस्ड खुकुरीको विशेष चिह्न राखिएको छ । यो नेपालसँगै गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचान हो । त्यस्तै, फ्युल ट्यांकमा ‘गोर्खा एडिसन’ लेखिएको विशेष स्टिकर पनि दिइएको छ । यसले गर्दा सामान्य क्लासिक ३५० को तुलनामा गोर्खा एडिसनको बाहिरी पहिचान फरक देखिन्छ ।
गोर्खा रेजिमेन्टलाई समर्पित विशेष संस्करण
रोयल इनफिल्ड इन्डियाले गोर्खा एडिसनलाई गोर्खा रेजिमेन्टको साहस, अनुशासन र विरासतप्रति सम्मान स्वरूप ल्याएको हो । मोटरसाइकलको नाम, कलर र खुकुरीको चिह्नले यसलाई अन्य क्लासिक ३५० भन्दा अलग पहिचान दिएको छ ।
नेपालमा गोर्खा नाम र खुकुरीसँग जोडिएको ऐतिहासिक र सांस्कृतिक सम्बन्धका कारण यो संस्करण नेपाली बजारका लागि पनि विशेष चासोको विषय बनेको हो ।
नयाँ ग्राफिक्समा पुरानै डिजाइन र फिचर कम्बिनेसन
नयाँ गोर्खा मिलिट्री कलर र आकर्षक ग्राफिक्समा पुरानै क्लासिक ३५० को आइकोनिक डिजाइनको कम्बिनेसनले रोयल इनफिल्डको गोर्खा एडिसनलाई अझ विशेष बनाएको छ ।
क्लासिक ३५० को मौलिक रेट्रो डिजाइनलाई निरन्तरता दिँदै यसमा गोर्खा पहिचान झल्काउने मिलिट्री कलर र विशेष ग्राफिक्स समावेश गरिएको हो । जसले गर्दा यो मोटरसाइकलले पुरानो क्लासिक लुकसँगै नयाँ र आकर्षक पहिचान झल्काउँछ ।
यसका अलावा मोटरसाइकलमा उही ३४९ सीसी, सिंगल सिलिन्डर, एयर-कुल्ड जे-सिरिज इन्जिन प्रयोग गरिएको छ । यसले करिब २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनसँग ५-स्पीड गियरबक्स जोडिएको छ ।
यसमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, असिस्ट एन्ड स्लिपर क्लच, टाइप-सी यूएसबी चार्जिङ पोर्ट, डुअल च्यानल एबीएस, वायर-स्पोक ह्वील, गोलो मिरर, क्रोम फिनिस भएको हेडलाइट र क्रोम एग्जस्टजस्ता डिजाइन एलिमेन्टहरू पाइन्छन् ।
गोर्खा एडिसनको इन्जिन र फिचर रेगुलर क्लासिक ३५० जस्तै भए पनि यसको मुख्य आकर्षण डिजाइन, मिलिट्री शैलीको रङ, गोर्खा पहिचान झल्काउने संकेत र विशेष ग्राफिक्सका कारण यो अरुभन्दा खास बनेको छ ।

